विश्व फेसन उद्योग मजदुरको दोहनमा कति धेरै निर्भर रहेछ भन्ने कोभिड–१९ ले उजागर गरिदियो
यो वर्ष विश्वले दुईवटा ऐतिहासिक चुनौती सामना गर्यो, कोभिड–१९ र यसका कारण उत्पन्न आर्थिक विपत् । यसले आर्थिक रूपमा कमजोर श्रमिकमाथि गम्भीर असर पार्यो । हुन त श्रमिकहरूले पहिले नै न्यून ज्याला र थोरै सामाजिक सुरक्षाका कारण समस्या भोगिरहेका थिए । श्रमिकको दयनीय स्थितिलाई भूमण्डलीकृत विश्वका धेरै कुनामा व्याप्त चरम असमानताले झनै स्पष्ट पारिदिएको छ । फेसन उद्योग पनि अछुतो छैन । महामारीले उब्जाएको आर्थिक दबाबका माझ फेसन उद्योग सस्तो श्रममाथि कति धेरै निर्भर छ भन्ने उजागर भयो । यो निर्भरता संकटको समयमा कति खतरनाक हुन्छ भन्ने पनि प्रस्टिएको छ । विश्व बैंकले कोभिड–१९ का कारण १५ करोड मानिस पुनः गरिबीको रेखामुनि जान सक्ने चेतावनी दिएको सन्दर्भमाझ यो मुद्दालाई बेवास्ता गर्न सकिँदैन ।
वर्षको सुरुमै कोभिड–१९ को विस्तार सुरु भयो र रोग नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनले विश्व अर्थतन्त्र ठप्प भयो । विकासोन्मुख देशका न्यून ज्यालामा काम गरिरहेका करोडौँ गार्मेन्ट श्रमिकको समस्या पनि सुरु भयो । पहिरन व्यवसायको सप्लाई चेन टुट्दा अर्डर रद्द भए । भियतनाम, कम्बोडिया, भारत तथा बंगलादेशका उद्योग चल्न छाडे र श्रमिकको भुक्तानी रोकियो । धेरै श्रमिकलाई विनाभुक्तानी घर पठाइयो । एक शताब्दीमा एकपटक आउने खालको महामारीको समयमा श्रमिक विनाआय घरव्यवहार चलाउन विवश भए ।
कोभिड–१९ मा चीनको सिन्जियान क्षेत्रका उयिगुर जनसंख्याको दमनमा फेसन उद्योगको भूमिका रहेको मानवअधिकारकर्मीले प्रकाश पारिरहे । चीनको ८५ प्रतिशत (जुन विश्वको कुल उत्पादनको २० प्रतिशत हो) कपास सिन्जियान क्षेत्रबाट आउँछ र कपडा उद्योगसँग यो क्षेत्र प्रत्यक्ष जोडिएको छ । जुलाईमा उयिगुर बँधुवा श्रम अन्त्यको माग गर्ने एक गठबन्धनले विभिन्न फेसन ब्रान्डको नाम प्रकाशित गर्यो । सूचीमा रहेका ब्रान्डले आफ्ना सप्लाई चेन सिन्जियानका बँधुवा श्रमिक नजोडिएको प्रत्याभूत गर्न नसकेको विश्वास गरिएको छ ।
के फेसन उद्योगले अहिलेको अवस्थाप्रति आँखा उघार्ला ? के यो दिगो सुधारका लागि तयार होला ? आधारभूत रूपमा जरा गाडेको व्यावसायिक प्रणाली उल्ट्याउन उद्योगले थप जिम्मेवारी लिनैपर्छ ।
अप्ठ्यारो भोग्ने एसियाका गार्मेन्ट श्रमिक मात्रै छैनन् । लन्डनबाट प्रकाशित हुने ‘द सन्डे टाइम्स’ले जुलाईमा गरेको एक अनुसन्धानात्मक रिपोर्टले लेस्टरस्थित एक उद्योगका श्रमिकलाई घन्टाका ४.६४ डलर मात्र पनि दिइएको पत्ता लगाएको थियो । सो उद्योगले फेसन ब्रान्ड वुहुका लागि कपडा बनाउने रहेछ । श्रमिक अधिकारसम्बन्धी गैरनाफामूलक अभियान ‘लेबर विहाइन्ड द लेबल’का अनुसार लेस्टरका कैयौँ गार्मेन्ट उद्योग महामारीको समयमा पनि खुला रहे, तर त्यस अवधिमा सामाजिक दूरीको सही पालना भएन । केही श्रमिकले आफू कोरोना भाइरस संक्रमित हुँदासमेत काममा बोलाइएको बताए । सन् २०१६ मा द बिजनेस अफ फेसनको आयोजनामा हुने फेसन–उद्योग नवप्रवर्तकहरूको भेला ‘भोइसेस’मा डच ट्रेन्ड पूर्वानुमानकर्ता लि इडेकुर्टले एक महत्वपूर्ण प्रश्न गरेका थिए, ‘एउटा कपडा कसरी एउटा स्यान्डविचभन्दा सस्तो हुन सक्छ ? कपडा लामो प्रक्रियाबाट गुजे्रर बन्छ । यसका लागि पहिले खेती गर्नुपर्छ, खेतीको गोडमेल गर्नुपर्छ, छुट्याउनुपर्छ ।
पछि फेरि बाट्नुपर्छ, उन्नुपर्छ, काट्ने र जोड्ने काम गर्नुपर्छ । त्यसपछि फिनिसिङ गर्नुपर्छ अनि छाप्ने, नाम लगाउने, प्याक गर्ने र ढुवानी गर्नुपर्छ, यी यावत् प्रक्रियाबाट गुज्रिने पहिरनको मूल्य केही युरो मात्र कसरी हुन सक्छ ?’ प्रश्न सुनेदेखि दिमागमा यो कुरा खेलिरहेको छ । कोभिड–१९ ले उजागर गर्नुअघि नै पनि कपास, कपडा र पहिरन उद्योगमा बँधुवा श्रमिकहरूको प्रयोग हुन्थ्यो । नाफा अधिकतम बनाउन फेसन उद्योगले विगतदेखि आफ्ना श्रमिकलाई निर्वाह गर्न पनि नपुग्ने ज्याला दिइरहेका थिए । यो व्यापारिक मोडल एकातर्फ निकै कम मूल्यमा ठूलो परिमाणको कपडा बेच्न केन्द्रित छ । तर, उही समय कपडा निर्माणमा संलग्नहरूलाई भन्दा थोरैभन्दा थोरै ज्याला मात्र दिइरहेको छ । उदाहरणका लागि बंगलादेशलाई नै लिऊँ । ४० लाख गार्मेन्ट श्रमिकको देश बंगलादेशका धेरै श्रमिकले त्यहाँको सरकारले तोकेको न्यूनतम ज्लालाभन्दा केही मात्र बढी कमाउँछन्, जुन मासिक ८००० टाँका वा १०० डलरभन्दा केही कम हो । उचित ज्यालाको माग गर्ने अभियन्ताका अनुसार श्रमिकहरूलाई सहज जीवन बाँच्नका लागि त्यसको दोब्बर आय आवश्यकता पर्छ ।
उच्च बिलासी फेसन ब्रान्डसमेत तिनको सप्लाई चेनका सबैभन्दा कमजोर श्रमिकबाट हुने दोहनमा सहभागी छन् । डियोर तथा सेन्ट लरेन्टजस्ता बिलासी ब्रान्डले न्यून मूल्यको बुट्टा बनाउने कामहरू भारतमा सबकन्ट्रयाक्ट गर्छन् । भारतमा बुटा भर्ने अत्यन्त सिपालु कलाकारले पनि अत्यन्त कम ज्याला पाउँछन् । पछि जसले कन्ट्र्याक्ट दिएका हुन्छन्, तिनले युरोपमा कपडाको एसेम्बली गर्दा ‘इटलीमा बनेको’ वा ‘भारतमा बनेको’ ट्याग लगाइदिन्छन् । के फेसन उद्योगले अहिलेको अवस्थाप्रति आँखा उघार्ला ? के यो दिगो सुधारका लागि तयार होला ? आधारभूत रूपमा जरा गाडेको व्यावसायिक मोडेल उल्टाउन उद्योगले थप जिम्मेवारी लिनैपर्छ । सम्झौता रद्द गरेर, निर्माण कार्य स्थानीय उद्योगलाई दिएर र मानिसको ठाउँमा रोबोट ल्याएर समाधान हुनेवाला छैन ।
(इमरान एमेद द बिजनेस अफ फेसनका संस्थापक तथा सिइओ हुन्)
न्युयोर्क टाइम्सबाट