गायक यश कुमार कुराकानीको सुरुवातमै चर्किन्छन्, ‘कसैको जुँगाको लडाइँले जनताले सास्ती भोग्नुपर्ने ? जनताको अधिकारमाथि खेलाँची गर्नुपर्ने ?’ गायक कुमारसँगै थपिन्छन् संगीतकार वसन्त सापकोटा, ‘जुन लोकतन्त्रको गफ चुटेर नेताहरू बसिरहेका छन्, त्यो जनताले ल्याएको हो, उनीहरूले होइन । इतिहास साक्षी छ कि जनता जागेमा यहाँ कसैको केही चल्नेवाला छैन ।’
प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध अहिले संगीतकर्मीहरू छलफलमा व्यस्त छन् । सापकोटा ओलीमा सत्ता र बहुमतको दम्भ देखिएको र त्यसले सिंगो मुलुकलाई हानि गरिरहेको भन्दै अब धेरै सहेर बस्न नहुने बताउँछन् ।
संगीतकार संघका महासचिव पारस मुकारुङ आफूहरू प्रधानमन्त्रीको गैरसंवैधानिक कदमविरुद्ध, संविधान अनि जनमतको रक्षाका लागि चरणबद्ध आन्दोलनमा आउन छलफलमा व्यस्त रहेको बताउँछन् । भन्छन्, ‘आन्दोलनमा कसरी जाने र कसरी विरोध कार्यक्रम तय गर्ने छलफलमा छौँ । तर, प्रधानमन्त्री ओलीले यो ख्याल गर्नुपर्छ कि यदि कलाकर्मी सडकमा आइपुगे भने सत्ताका लागि त्योजत्तिको दुर्भाग्य अरू हुन सक्दैन । कलाकार सडकमा आउनु आफैँमा दुःखदायी कुरा हो ।’
चुनाव आउँछ, कलाकार चाहिने । गीत गाइदिनुपर्ने । गीत बनाइदिनुपर्ने । कार्यक्रममा हिँडिदिनुपर्ने । तर, यसभन्दा पहिला कलाकार एउटा सचेत नागरिक हो भनेर राज्यले बुझिदिनुपर्ने संगीतकार अर्जुन पोखरेल बताउँछन् । ‘संगीतकर्मीलाई प्रयोगको साधन मात्र सोच्ने हाम्रो देशको राजनीतिले अब पनि कलाकारलाई उपयोग गर्नेबारे मात्र सोच्ने हो भने त्यो दुर्घटना हो ।
सबैभन्दा पहिला संगीतकर्मी एक सचेत नागरिक हो,’ पोखरेल भन्छन्, ‘अब यो प्रतिगमनविरुद्ध हामी डटेर लड्नुको विकल्प देख्दिनँ ।’ संगीतकार सापकोटा पनि कलाकारलाई राष्ट्रले सधैँ गहना भनिरहेको र त्यो भाष्य भत्काउने समय आएको बताउँछन् । ‘हामीलाई राज्यले राष्ट्रको गहना भनिदिन्छन् । चाहिँदा लगाउने, नचाहिँदा फुकालेर फालिदिने,’ सापकोटा भन्छन्, ‘चुनावमा गीत गाइदिने वेला खोज्छन्, अरूवेला खोजीनीति छैन । त्यो भएर पनि राज्यप्रति सधैँ वितृष्णा पैदा हुन्छ । तर, अब हामी गहना मात्र नभएर एक जिम्मेवार नागरिक हौँ भनेर प्रमाणित गर्ने वेला आएको छ ।’

उनका अनुसार जुन–जुन तरिकाले नेताहरूका विविध धारणा आइरहेका छन्, त्यसले गर्दा पनि केही समय मौन रहेका थिए संगीतकर्मीहरू । ‘कसले चालेको कदम गलत हो भनेर विविध भ्रम खुट्याउन निकै सकस प¥यो । एकअर्कासँग जुधेर जनतालाई दुःख दिइरहेका छन्,’ यशकुमार भन्छन्, ‘तर अब को गलत र सहीभन्दा पहिला जनताको अधिकारमाथि जुन किसिमले धावा बोलिएको छ, त्यसविरुद्ध हामी लडाइँमा उत्रनेछौँ । सचेत नागरिकको नाताले त्यो नै हाम्रो कर्तव्य र जिम्मेवारी हो ।’
अब लगभग जुँगाको लडाइँ र कसैको धारणालाई पर राखेर जनताको अधिकार पुनस्र्थापित गर्न आफूहरू आन्दोलनमा उत्रिने बताउँछन् गायक यशकुमार । कसैको राजनीतिक खिचातानीमा परेर जनताको अधिकार र शक्तिलाई नजरअन्दाज गरिन्छ भने त्यसको खुलेर विरोध गर्नुको औचित्य नरहेको बताउँछन् उनी । प्रश्न गर्छन्, ‘कसैको सिङको जुधाइको क्षतिपूर्ति सिंगो जनताले तिर्नुपर्ने ?’
आफूले पछिल्लो समयको राजनीतिक घटनाक्रमलाई राम्रोसँग नियालिरहेकाले यस्ता शक्तिका लागि हुने चलखेलले जनता कसरी जिउँदै थला पर्छन् भन्ने महसुस भएको बताउँछन् संगीतकार पोखरेल । अस्थिर सरकारले आजित भएकाले पाँच वर्षका लागि बहुमत दिए पनि त्यो बहुमतको मात्र नभएर सिंगो जनताको अपमान यो सरकारले गरेको उनको भनाइ छ ।
‘हामीले सोचेका थियौँ, स्थिर सरकार आएपछि सबै कुरा सामान्य हुँदै मुलुक विकासको बाटोमा हिँड्नेछ । तर, त्यो भएन,’ पोखरेल भन्छन्, ‘बरु जसलाई विश्वास गरेर सरकार पाँचवर्षे सरकार चलाउने अधिकार दिइएको थियो, अहिले उसैले आएर हाम्रो अधिकार दबाइदियो ।’ संगीतकार सापकोटा पनि नौ–नौ महिनामा सरकार परिवर्तन हुने अवस्थाबाट आजित भएकाले यो सरकारलाई बहुमत दिएको, तर त्यही बहुमतका आधारमा अहिले आएर निरंकुशतातर्फ उन्मुख भएको बताउँछन् ।
संगीतकार पारस मुकारुङ यस्तो अवस्थामा संगीत क्षेत्र चुपचाप रहेर बस्न नसक्ने बताउँछन् । कोरोना महामारीले ग्रस्त भएका संगीतकर्मी अहिले आएर सडकमै पुगेर आन्दोलन गर्नेबारे सोच्नु दुःखद भएको उनको धारणा छ । ‘नेकपाको दुईतिहाइको दादागिरी र दम्भका कारण यो परिस्थिति आइपर्यो । प्रधानमन्त्रीको गैरसंवैधानिक कदमविरुद्ध हामी उठ्नैपर्छ,’ मुकारुङ भन्छन्, ‘प्रधानमन्त्रीको सनकको भरमा सारा जनताको सार्वभौमिकतामाथिको प्रहार निन्दनीय छ । यो अपराध हो । प्रधानमन्त्रीको यो मूर्खतापूर्ण र सनकको निर्णयविरुद्ध हामी लड्नैपर्छ ।’