नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले मुलुकमा निरंकुशता लाद्ने प्रयास गरिरहेको दाबी गरेका छन् । ओलीले राज्यशक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग आफूमातहत राखेको उनको भनाइ छ ।
संविधानमा स्पष्ट रूपमा नेपाललाई समाजवादउन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको उनको भनाइ छ । पुनले नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोपसमेत लगाए । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उनको थियो ।
‘ओली निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिँड्नुभएको छ,’ नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले भने, ‘यो नेपाल हो, राजा–महाराजाको निरंकुश ता नटिकेको नेपालमा ओली निरंकुशता धेरै दिन टिक्न दिँदैनौँ ।’
गत ५ पुसको मन्त्रिपरिषद् बैठकमा ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्दा आफूसहित केही मन्त्रीले प्रतिवाद गरेको प्रसंग उल्लेख गर्दै पुनले मन्त्रिपरिषद्को भावनाविपरीत जबर्जस्ती प्रतिनिधिसभा विघटन गराएको बताए।
नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्यूत भएको टिप्पणी गरे । ‘मन्त्रीहरूको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो,’ उनले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लंग भएको छ ।’
फरक प्रसंगमा पुनले केन्द्रीय कमिटीको झन्डै दुईतिहाइ र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिह्न सूर्य आफूहरूले पाउनेमा शंका नरहेको बताए । ओलीको असंवैधानिक सरकार बढीमा चार महिना टिक्ने दाबी उनको छ ।