नेपाल प्रहरीलाई नै ठग्न खोज्ने ठेकेदार पक्राउ

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण

 पोसाक खरिदमा नेपाल प्रहरीलाई नै ठग्न खोज्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ । क्राउन टेक्सटाइल इन्ड्रस्टिजका सञ्चालक पीताम्बरकुमार मुन्का र उनका कर्मचारी नरेन्द्रनाथ पौडेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो । 

मुन्काको कम्पनीले आर्थिक वर्ष ०७३/७४ मा नेपाल प्रहरीको २० हजार मिटर उलन पाइन्टको कपडाको ठेक्का पाएको थियो । उनले प्रहरीलाई आपूर्ति गरेको कपडा सम्झौताअनुसार गुणस्तरीय नभएपछि प्रहरीले नलिने निर्णय गरेको थियो । उनले फेरि परीक्षणको क्रममा प्रहरीलाई ठग्ने प्रयास गरेका हुन् ।
 
भारतको चेन्नईस्थित एसजिएच कम्पनीमा परीक्षण गर्दा सो कपडाको गुणस्तर सम्झौताभन्दा कमजोर देखिएको थियो । मुन्काले सोही कम्पनीमा राम्रो कपडाको नमुना पठाई त्यसको रिपोर्ट प्रहरीलाई पठाउन लगाएर प्रहरीलाई झुक्याउने प्रयास गरेका थिए । 

त्यस सम्बन्धमा प्रहरी प्रधान कार्यालयले एसएसपी उमेश रञ्जितकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिको सिफारिसका आधारमा उनलाई ठगी मुद्दामा कारबाही गर्न लागिएको हो ।

सुझावित समाचार