नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले अबको निकास प्रतिनिधिसभा पुनर्स्थापनाबाट हुने बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएमा मुलुक ट्रयाकमा आउने र पार्टी पनि एक ठाउँमा आउने उनको तर्क छ ।
नेकपा प्रचण्ड-नेपाल समूहको रुपन्देही जिल्लाको कार्यकर्ता भेलालाई आइतबार सम्बाेधन गर्दै उनले सरकार सञ्चालनमा पार्टीले कुनै अवरोध नगरेको अवस्थामा अवरोध भयो भन्दै प्रतिनधिसभा विघटन गर्नु गलत भएको बताए । संवैधानिक व्यवस्थाविपरीत गरिएको प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधान च्यातिन थाल्ने भन्दै भुसालले चुनाव गर्न यो सब खेल नभएकाले अब पुनर्स्थापनाको पक्षमा उभिनुपर्ने बताए ।
उनले अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गर्दै अदालतबाट पुनर्स्थापना नभए पनि प्रतिनिधिसभा पुनर्स्थापना भएरै छाड्ने बताए । विगतमा पनि पटकपटक संसद् विघटनका घटना भएको र ती पुनर्स्थापना हुँदै आएका तथ्य प्रस्तुत गर्दै भुसालले प्रतिनिधि पुनर्स्थापना भएरै छाड्ने जिकिर गरे ।
प्रधानमन्त्री ओलीले विधि, विधान पार्टी निर्णय केही पनि नमानेको र संविधानसमेत मिच्दै अगाडि बढेको अवस्थामा अब पार्टी एकताको पक्षमा भएका सबै पार्टी कार्यकर्ताहरू प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडकमा उत्रिनुपर्ने बताए ।
कार्यक्रममा नेकपा नेतृ तथा पूर्वसभामुख ओनसरी घर्तीले पार्टीले सरकारलाई काम गर्न कुनै अवरोध तथा घेराबन्दी नगरेको अवस्थामा जुन तर्क गरिएर प्रतिनिधिसभा विघटन गरिएको छ त्यसमा सत्यता नभएको बताइन् । उनले कम्युनिस्ट पार्टीको एकता कायम राख्न शीर्ष नेताहरू अगाडि बढ्नुपर्ने अवस्थामा पनि दुई पाइला पछाडि हट्दैआएको अवस्थामा प्रतिनिधिसभा विघटन गरिएको भन्दै आन्दोलनको बलमा प्रतिनिधिसभा पुनर्स्थापना गरिछाड्ने दाबी गरिन् ।
कार्यक्रममा नेकपाका नेताहरू वामदेव क्षेत्री, दधिराम न्यौपानेलगायतले आफूहरू विचारसहितको मूल धारमा रहेकाले अलमलिन नपर्ने बताए ।