जिपलाई ड्रममाथि राखेर कर्णाली तारियो

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण

जिपलाई ड्रममाथि राखेर कर्णाली नदी तारिएको छ । बाजुराको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रम राखेर त्यसको सहायताले जिपलाई नदी तारिएको हो । 

दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जिपलाई तारेर गाउँपालिकामा ल्याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाका तीन वडामा सडक पुगेकाले यातायातका साधन नहुँदा हिँडेर नै सेवा लिन आउने नागरिकलाई सहजताका लागि यातायात सञ्चालन गर्ने गरी जिपलाई ड्रममाथि राखी नदी तारिएको हो ।     

स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दासमेत गाउँपालिकामा हालसम्म सवारीसाधन पुग्न सकेको छैन । कर्णालीपारिको एक मात्र गाउँपालिकामा हालसम्म यातायात पुग्न नसकेको र त्यहाँका जनताले निकै सास्ती भोगेको समस्यालाई मध्यनजर गरी कर्णाली नदीमा ड्रमहरू राखी जिपलाई त्यसमाथि चढाएर पारि तारिएको हो ।

‘नदीमा जिप तार्न सहज नभए पनि जोखिम मोलेर तारियो,’ अध्यक्ष शाही भने, ‘सुइजिउला कर्णाली नदीमा फेरी निर्माण गर्ने गरी डिपिआर तयार भए पनि आर्थिक अभावका कारण निर्माण गर्न सकिएको छैन, केही उपाय नलाग्दा ठूला ड्रमहरूमा बाँधेर जिप पारि लगिएको हो ।’

गाउँपालिकाका पाँच वडामध्ये तीन वडामा सडक सञ्जाल जोडिएको छ । साबिकको वाई र जुकोट गाविसमा सडक निर्माण भइसकेको र साबिकको साप्पाटा गाविस जाने सडक निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । शनिबार सु प प्र ००१ च २९४६ नम्बरको जिपलाई स्थानीयवासीले स्वागत गरेका थिए ।  

स्वामीकार्तिक गाउँपालिका पूर्वमा कालिकोट र मुगु जिल्ला, पश्चिममा जगन्नाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका तथा दक्षिणमा कालिकोट जिल्लासँग जोडिएको छ ।  गाउँपालिका साबिकको साप्पाटा बस्ती लौठी, उपरगाउँदेखि साबिकको वाई गाविसको मिगु अति दुर्गमका बस्ती हुन् ।    

सुझावित समाचार