घटना एक, विराटनगरबाट एकजना मित्र आफ्नो आमाको उपचारका लागि काठमाडौं आए । आमाको कोख दुख्ने समस्या रहेछ । डाक्टरले एक्स–रे, रगतलगायत गर्नुपर्ने सबै स्वास्थ्य परीक्षण गरेपछि कलेजोमा समस्या रहेको र त्यसले १० प्रतिशत मात्र काम गरिरहेको बताए । औषधिले नै बिस्तारै कलेजो निको हुने भन्दै सल्लाह दिए । पछि त्यही औषधि सेवनका कारण आमाको होस गुम हुन थालेछ । भान्सा जान हिँडेको व्यक्ति छतमा गएर टोलाउने भएछ । कुनै पनि कुराको होस नहुने भएपछि व्यवहारमै परिवर्तन देखा पर्न थाल्यो । काठमाडौंमा आमाको थप उपचारका लागि ल्याइएपछि डाक्टरले फेरि सम्पूर्ण स्वास्थ्य परीक्षण गर्न लगाए । परीक्षणको सबै रिपोर्ट हेरेपछि डाक्टरले सबै ठीक छ भने । तपाईंको सुगर, प्रेसर, थाइराइड सब ठीक छ, चिन्ता लिनुपर्दैन । कलेजोमा अलि–अलि बोसो जम्न थालेछ, फलानो औषधि खुवाएपछि ठीक हुन्छ भनेर औषधि लेखिदिए ।
घटना दुई, स्याङ्जा बस्ने एकजना भाइलाई करिब ६ महिनाअघि मध्यरातमा अचानक बेहोसजस्तो हुने, आँखा एकोहोरो टोलाउने, मुखबाट फिँज निकाल्ने, कतिपय अवस्थामा रातमा उठेर अचानक हिँड्ने र आफैँले गरेको कुरा चाल नपाउने भएपछि उपचारका लागि अस्पताल लगियो । सिटीस्क्यानलगायत कैयौँ परीक्षण गरेपछि डाक्टरले औषधि लेखिदिए । औषधि नियमित खाँदासमेत समस्या बारम्बार दोहोरिन थालेपछि उपचारका लागि काठमाडौं ल्याइयो । काठमाडौंमा थप उपचारका लागि ल्याइएपछि डाक्टरले पहिलेका सबै रिपोर्ट हेरे र पहिलेको डाक्टरले दिएको औषधि ठीक नभएकाले त्यो खान नहुने बताए । साथै, उनले नयाँ औषधि लेखिदिए र तीन महिनापछि आउनु भनी पठाइदिए ।
घटना तीन, मध्यबानेश्वरनिवासी एकजना साथी, जो उमेरले युवा छन्, कार्यालयबाट साँझ घर फर्कंदै गर्दा मोटरसाइकल दुर्घटनामा परे । उनले सुनाएअनुसार– दुर्घटनापछि आँखा अचानक बादलिएजस्तो भयो र होस सम्हाल्दा अस्पतालको बेडमा थिएँ । त्यसपछि उपचारका क्रममा उच्च रक्तचापले गर्दा यस्तो भएको हो भनी उच्च रक्तचापको औषधि खान भनियो । औषधि नियमित खाँदै गएपछि मधुमेह देखिएछ । अनि मधुमेहको उपरचार गर्दागर्दै डाक्टरले औषधि खानुपर्ने बताएछन् । मधुमेह र उच्च रक्तचापको औषधि खाँदा पनि स्वास्थ्य अवस्था झन्–झन् बिग्रँदै गयो र अहिले दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेका छन् ।
दुःखको विषय के हो भने डाक्टर, बिरामीका आवाज सुन्ने र त्यसको यथोचित सम्बोधन गर्ने गरीको हामीसँग कुनै संस्था छैनन्, जसले यावत् विषयमा अनुगमन गरून्
युवा हुँदाहुँदै पनि स्वास्थ्यका कारण रोजगारी गुमाउनुपर्ने त छँदैछ, जीवन नै रहने हो कि होइन भन्ने चिन्ता पनि थपिएको छ । यति भइसकेपछि उपचारका लागि भनेर उनी दिल्ली जाने भए । दिल्लीको अपोलो अस्पतालमा गएर त्यहाँका डाक्टरलाई रिपोर्ट देखाउँदा डाक्टरहरूले मुखामुख गरेछन् । त्यसपछि उनको विभिन्न परीक्षण गरेर नेपालमा कुन डाक्टरले उपचार गरेको हो, उसको फोन नम्बर पत्ता लगाउन भनेछन् । फोन नम्बर दिएपछि ती डाक्टरले फोन गरेर यस्तो बिरामीलाई यस किसिमको औषधि किन दिइएको भनेर निकै भड्किए । त्यति मात्र होइन, ती डाक्टरले यो विषयमा काठमाडौं गएर पत्रकार सम्मेलन गरी डाक्टर र अस्पतालको पर्दाफास गर्न भनेछन् । साथै, आफूले अब उपचार गर्न कठिन भएको भन्दै आयुर्वेदतर्फ जान सुझाएछन् ।
यी तीनै घटना सामान्य मानिसमाथि भएको त्यस्तो खेलबाड हो, जो जीवन जोगाउने भनिएका डाक्टरले नै गरेका हुन् । यसले नेपालमा बिरामीहरू उपचार नपाएरभन्दा पनि कतै गलत उपचारको कारणले त अनावश्यक दुःख पाइरहेका छैनन् भन्ने गम्भीर प्रश्न उठाइदिएको छ । देशमा सर्वसुलभ अस्पताल छैनन् भन्ने समाचारका बीच अस्पताल भएकै ठाउँमा पनि डाक्टरबाट सही उपचार पाइरहेका छौँ कि छैनौँ भन्ने समाचार हराएको छ । चिकित्सकले पढ्ने एउटै विषय भए पनि आफूले बुझ्ने र प्रयोग गर्ने ज्ञान, सीप र क्षमता फरक–फरक हुन सक्ला, तर एउटै बिरामीको एउटै रिपोर्टमा दुईजना डाक्टरले दुई थरी समस्या भनिदिएपछि बिरामीले कसले भनेको कुरालाई विश्वास गर्ने ?
यदि डाक्टरले सही उपचार गरेको भए अपोलो अस्पतालका डाक्टरले उपचार गलत भयो भनी कसरी भन्ने थिए ? अहिले बिरामीको उपचारको नाममा कसरी हुन्छ धेरै पैसा असुल्ने, अनावश्यक औषधि खान सिफारिस गरेर त्यसबाट कमिसन खाने, सरकारी अस्पतालका डाक्टरले निजी अस्पतालमा बिरामी रिफर गर्नेजस्ता काम भइरहेका छन् । यसका साथै डाक्टरहरूले बिरामीलाई बिरामीको अवस्थाभन्दा पनि बढी डर देखाएर उपचार गर्ने र त्यसलाई सेवा होइन कि व्यापारमा परिणत गर्ने गरिरहेका छन् । यसको परिणाम हो कि बिरामीहरू अस्पतालमा बन्धक भएको समाचार आइरहन्छन् ।
संसारमा कुनै पनि चिकित्सक सर्वज्ञ हुन नसक्ला, तर आफूले हेर्ने बिरामीको उपचारका सन्दर्भमा भने हदैसम्म संवेदनशील बन्नैपर्छ । कतिपय डाक्टरलाई सेवाभन्दा बढी मेवाको आस छ । यसले गर्दा पछिल्लो समय जीवन जोगाउने डाक्टर र अस्पतालप्रति मानिसमा सम्मानभन्दा आशंका बढी पाइन्छ । औषधिबाट र निजी अस्पतालबाट आउने कमिसनले गर्दा डाक्टरहरूले आफ्नो धर्म छोडिरहेको सर्वत्र चर्चा भइरहँदा बिग्रेको छवि सुधार्ने अभिभारा पनि डाक्टरहरूकै हो । तर, दुःखको विषय के हो भने डाक्टर, बिरामीका आवाज सुन्ने र त्यसको यथोचित सम्बोधन गर्ने गरीको हामीसँग कुनै पनि त्यस्ता संस्था छैनन्, जसले यी विषयमा अनुगमन र अध्ययन गरून् । त्यसैले समय घर्किनुअगावै यस विषयमा सम्बन्धित सबैको ध्यान जानु आवश्यक छ ।