जिल्लामा कोभिड–१९ का कारण प्रभावित बनेको राष्ट्रिय प्रसारण लाइन निर्माण कार्यलाई प्राथमिकता दिइने भएको छ । उत्पादित विद्युत् खेर जान नदिन राष्ट्रिय प्रसारण लाइन समयमै निर्माण सम्पन्न गर्ने तयारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको संयोजकत्वमा सरोकारवालाको बैठक बसी प्रसारण लाइनको कामलाई प्राथमिकता दिने निर्णय गरिएको हो । दोर्दी करिडोरअन्तर्गत १ सय ३२ केभी प्रसारण लाइनको निर्माण कार्य अघि बढिरहेकाले आगामी चैतसम्म सकिने र २ सय २० केभीअन्तर्गत पनि विवाद तथा समस्या नभएका कारण निर्माणलाई गति दिने निर्णय गरिएको प्रजिअ शर्माले बताए ।
दोर्दी गाउँपालिका–६, ढोढेनीको कीर्तिपुरदेखि बेँसीसहर नगरपालिका–१, उदीपुरसम्म १४ किलोमिटर १ सय ३२ केभी प्रसारण लाइन निर्माणाधीन अवस्थामा छ । प्राधिकरणले नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत उदीपुरमा सबस्टेसन निर्माणको काम पनि सम्पन्न भई परीक्षणको क्रममा छ । चितवनदेखि तनहुँ, लमजुङ हुँदै मनाङसम्म २ सय २० केभी प्रसारण लाइन परियोजना निर्माण हुन लागेको हो ।
दोर्दी गाउँपालिका–६, साबिक ढोडेनीको कीर्तिपुरदेखि बेँसीसहर–१, उदीपुरसम्म १० किलोमिटर १ सय ३२ केभी ट्रान्समिसन लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको राष्ट्रिय प्रसारण लाइन आयोजना प्रमुख रमेश पौडेलले बताए । ट्रान्समिसन लाइन तयार भएपछि दोर्दी करिडोरमा निर्माणाधीन २ सय मेगावाटको आयोजनाको विद्युत् प्रसारण लाइन २ सय २० केभी मर्स्याङ्दी करिडोरमा जोडिनेछ ।
दोर्दी करिडोरमा अहिले २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ५४ मेगावाटको सुपर दोर्दी ख, २७ मेगावाटको दोर्दी खोला, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन् । यीमध्ये माथिल्लो दोर्दी ‘ए’ र दोर्दी खोला आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । तर, आयोजना ट्रान्समिसन लाइनको पर्खाइमा छ ।