प्रचण्ड–नेपालको वरीयता तोकिएन, आलोपालो अध्यक्षतामा सहमति

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच पार्टी विधानअनुसार बैठकको अध्यक्षता गर्दै पार्टी सञ्चालन गर्ने सहमति भएको छ । यसबारे ७ पुसको बैठकमा अध्यक्ष प्रचण्डले जानकारी गराइसकेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

‘अध्यक्ष प्रचण्डले पार्टी विधानको प्रस्ट पालना गर्ने गरी दुवै अध्यक्षले आलोपालो अध्यक्षता गर्ने र वरीयता पनि बैठकको अध्यक्षताका आधारमा हुने सहमति भइसकेको अघिल्लो बैठकमै जानकारी गराइसक्नुभएको छ,’ रिजालले भने ।

जसअनुसार बैठक अध्यक्षता गर्ने अध्यक्ष पहिलो वरीयतामा हुनेछन् भने अर्को अध्यक्ष दोस्रो वरीयतामा हुनेछन् । दोस्रोपटकको बैठकको अध्यक्षता फेरिनेबित्तिकै अर्को अध्यक्ष पहिलो वरीयतामा हुनेछन् । जसअनुसार प्रचण्ड–नेपाल नेकपामा कहिले माधव नेपाल त कहिले प्रचण्ड पहिलो वरीयताको अध्यक्ष बन्ने समझदारी भएको छ ।

७ पुसको बैठकको अध्यक्षता प्रचण्डले गरेको र बिहीबार त्यसैको निरन्तरताका रूपमा बैठक बसेकाले यो बैठकमा नेपाल दोस्रो वरीयतामा बसेका छन् । बैठकको सुरुवात नेपालले र समापन प्रचण्डले गरेका थिए भने सञ्चालन प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका थिए । 

कार्यविभाजनको जिम्मेवारी स्थायी कमिटीलाई 

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सचिवालय, स्थायी कमिटी र रिक्त महासचिवको पदपूर्ति गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ । बैठक सञ्चालनका लागि बिहीबारकै बैठकबाट महासचिव नियुक्ति गर्ने तयारी भए पनि आवश्यक गृहकार्य नपुगेको भन्दै प्रचण्ड–नेपालले कार्यविभाजनसम्बन्धी सबै जिम्मेवारी स्थायी कमिटीलाई दिने समझदारी गरेअनुसार बैठकले निर्णय गरेको हो ।

‘केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी र संगठनको कार्ययोजना तथा कार्यविभाजनबारे स्थायी कमिटीले नै आवश्यक निर्णय लिन सक्ने गरी बैठकले जिम्मेवारी दिएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले भने । 

सुझावित समाचार