तीन नेपाली खेलाडी टी–१० लिगमा

शुक्रबार, १० पुष, २०७७
डिजिटल संस्करण

तीन नेपाली क्रिकेटरले संयुक्त अरब इमिरेट्स (युएई) मा अर्काे महिना हुने नयाँ फम्र्याटको क्रिकेट प्रतियोगिता टी–१० लिग खेल्ने भएका छन् । प्रतियोगिताका लागि मध्यम गतिका बलरद्वय करण केसी र सोमपाल कामीसँगै युवा खेलाडी कुशल मल्ल छनोट भएका हुन् ।

कुनै पनि विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा एकैपटक दुईभन्दा बढी खेलाडी छनोट भएको यो पहिलोपटक हो । युएईले गत वर्षबाट सुरु गरेको टी–१० लिगको यो वर्षको संस्करण आगामी जनवरी अन्तिम सातादेखि सुरु हुँदै छ । 

सोमपालको यो दोस्रो विदेशी फ्रेन्चाइज प्रतियोगिता हुनेछ । करण र कुशलका लागि पहिलो अनुभव हुनेछ । सोमपालले यसअघि क्यानडाको ग्लोबल टी–२० खेलेका थिए । बिहीबार भएको ड्राफ्टबाट करणलाई पुने डेभिल्स, सोमपाललाई मराठा अरेबियन्स र कुशललाई टिम आबुधाबीले चयन गरेको हो ।

नेपाली खेलाडीका लागि यो अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटको राम्रो अनुभव हुनेछ । सोमपालको टोलीमा पाकिस्तानका सोएब मलिक, मोहम्मद हाफिजलगायत खेलाडी छन् । करणको टोलीमा श्रीलंकाका थिसरा परेरा, पाकिस्तानका मोहम्मद आमिर तथा कुशलको टोलीमा वेस्ट इन्डिजका क्रिस गेल, दक्षिण अफ्रिकी क्रिस मोरिसजस्ता खेलाडी सहभागी छन् ।

प्रतियोगिता खेलेबापत सोमपालले २० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । करण र कुशलले १०–१० हजार अमेरिकी डलर पाउनेछन् । टी–१० लिगमा गत वर्ष दुई नेपाली खेलाडी पारस खड्का र सन्दीप लामिछानेले खेलेका थिए । पारस यो वर्ष टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रूपमा सहभागी हुनेछन् ।

सन्दीपले यो वर्ष टी–१० लिग खेल्ने छैनन् । यो वर्ष अरू धेरै नेपाली खेलाडीले पनि प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराएका थिए । यद्यपि, अरू खेलाडीका लागि अनुबन्ध सम्भव भएन । नेपाली टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सिनियर खेलाडी शरद भेषवाकर, कुशल भुर्तेल, आरिफ शेखले पनि नाम दर्ता गराएका थिए । 

टी–१० लिग आगामी २८ जनावरीदेखि ६ फेब्रुअरीसम्म आयोजना हुनेछ । लिगमा अबुधाबी, पुने, मरठासहित बंगला टाइगर्स, डेकन ग्लाडिएर्टस, क्वालन्डर्स, दिल्ली बुल्स र नर्दन वारियर्स टोली सहभागी छ । प्रतियोगिताको सबै खेल आबुधाबीस्थित जायेद क्रिकेट मैदानमा हुनेछ । पहिलो, दोस्रो तथा सुपर लिगमा प्राप्त अंकको आधारमा शीर्ष चार टोली छानिनेछन् । शीर्ष चार टोली नै प्ले अफमा प्रवेश गर्नेछन् ।

सुझावित समाचार