पश्चिम बंगालमा बदलिँदो शक्ति–सन्तुलन

बिहिबार, ९ पुष, २०७७
डिजिटल संस्करण

ममता बनर्जीले पश्चिम बंगालको राजनीतिको ‘रातो रंग’ बदलिदिएपछि राज्यमा दक्षिणपन्थी राजनीतिको ढोका खोलिदिएको मानिन्छ ।

भारतका मूलधार मिडियामा पुनः बंगाल छाउन लागेको छ । दैनिक रूपमा कुनै न कुनै केन्द्रीय मन्त्रीहरू वा भाजपा नेता पश्चिम बंगाल पुग्न थालेका छन् । केन्द्रीय सरकारसँग नजिक मानिने राज्यका राज्यपाल जगदीप धनकडको बोली कुनै विपक्षी दलको नेताजस्तो सुनिन थालेको छ । चहलपहल मात्र हेर्दा चुनावमा भाजपाको जित सुनिश्चित रहेको जस्तो देखिन्छ । तर, यो त्यही पश्चिम बंगाल हो, जहाँको विधानसभामा केही वर्षअघिसम्म भाजपाका एक–दुई विधायक मात्रै जितेर पुग्थे । 

तर ममता बनर्जीले पश्चिम बंगालको राजनीतिको ‘रातो रंग’ बदलिदिएपछि राज्यमा उनको राजले दक्षिणपन्थीको सम्भावनाको ढोका खोल्यो । बंगालकी मुख्यमन्त्री ममता बनर्जीको अल इन्डिया तृणमुल कंग्रेस (टिएमसी)ले राज्यका लागि सन् २०१६ मा भएको चुनावमा कुल २९५ सिटमध्ये २११ सिट जितेको थियो । टिएमसीले त्यसअघि सन् २०११ को विधानसभा चुनावमा कंग्रेससँग गठबन्धन गरेको थियो । सोही गठबन्धनको सहाराले टिएमसीले पश्चिम बंगालमा ३४ वर्षदेखि सत्तामा रहेको कम्युनिस्ट पार्टी अफ इन्डिया, माक्र्सिस्टलाई सत्ताच्युत गरिदियो । कम्युनिस्टको ‘लालकिल्ला’ ढल्दा कंग्रेस र भाजपासमेत धेरै खुसी भएका थिए । 

सन् २०१९ मा भाजपाले राष्ट्रव्यापी लोकसभा चुनावमा बहुमत ल्याउँदा पश्चिम बंगालमा जम्मा दुई सिट मात्र जित्न सक्यो । त्यस राज्यमा भाजपाको सबैभन्दा सम्मानित लोकप्रिय मत सन् २०१४ मा देखिएको थियो । त्यस समय राज्यबाट भाजपाले १७ प्रतिशत मत पाएको थियो । पश्चिम बंगालमा सन् २००९ देखि सन् २०१४ बीचमा सम्पन्न लोकसभा तथा विधानसभा चुनावमा गोरखा जनमुक्ति मोर्चाले भाजपालाई समर्थन गरेको थियो । यही समर्थनको प्रतिफलस्वरूप भाजपाका दिवंगत नेता जसवन्त सिंह गोरखा बहुल लोकसभा निर्वाचन क्षेत्र दार्जलिङबाट जित्न सफल भए । सिंह पछि केन्द्रीय विदेशमन्त्री तथा वित्तीयमन्त्री बने । तर, गोरखा समुदायको भाजपाप्रति समर्थनमा पछिल्लो समय केही गडबडी देखिएको समाचार आयो । 

विगतमा मोदी लहरमाझ पनि भाजपाले पश्चिम बंगालमा दुई सिट मात्र जित्न सकेको थियो, तथापि पश्चिम बंगालको अंकगणित पहिले नै मापन गर्न सकिँदैन ।

भाजपाले पश्चिम बंगालको राज्य विधानसभा चुनावमा स्पष्ट बहुमत हासिल गर्ने हो भने २९५ सिटमा १४३ सिट जित्न आवश्यक छ । बंगालको मौजुदा सामाजिक–राजनीतिक परिदृश्यमा यो कठिन लक्ष्य हो, तर यो लक्ष्य प्राप्ति असम्भव भने होइन । माथि पनि भनियो कि सन् २०११ मा ममता नृतत्वको टिएमसी कंग्रेससँग गठबन्धन गरेर चुनावमा गएको थियो । तर, सिट संख्याका हिसाबले टिएमसीको एकल बहुमत पुगेको थियो । त्यसवेलादेखि हालसम्म राइटर्स बिल्डिङमा लगातार टिएमसीको सत्ता छ । बंगालमा दशकौँ लामो कम्युनिस्ट सरकार हट्दा कंग्रेस, भाजपा मात्र होइन,  अमेरिकासमेत खुसी भएको थियो । तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले ममता बनर्जीलाई बधाई दिएकी थिइन् । जबकि राज्यस्तरका चुनावमा अमेरिकी विदेशमन्त्रीले त्यसरी बधाई दिएको उदाहरण त्यति पाइन्न । 

सन् २०१९ को पुलवामा घटनापछि सम्पूर्ण भारतमा उठेको राष्ट्रवादको चुनावी लहरमा मोदीले अघिल्लो चुनावभन्दा बढी मत ल्याउँदा पनि पश्चिम बंगालमा दुई सिट मात्र जित्न सकेको थियो । भाजपाका तत्कालीन अध्यक्ष अमित शाहले नै पश्चिम बंगालको ४२ लोकसभा सिटमध्ये भाजपाले २२ सिट जित्ने प्रक्षेपण गरेका थिए । तर, बंगालले भाजपाको राष्ट्रिय लहरमा मिसिन अस्वीकार गरेको देखियो । 

त्यस अर्थमा पनि पश्चिम बंगालको अंकगणित पहिले नै मापन गर्न सकिँदैन । यसपटकको चुनावमा वाममोर्चाले कंग्रेससँग पहिलोपटक औचापरिक गठबन्धनको घोषणा गरेको छ । हुन सक्छ, यसले बिहारमा जस्तै सबै संसदीय कम्युनिस्ट दलको समर्थन रहेको महागठबन्धनको रूप ग्रहण गर्न सक्छ । त्यस बखत यस महागठबन्धनको भोटहिस्सा टिएमसीभन्दा बढ्न पनि सक्छ । 

फिल्मकर्मी आनन्द पटवर्धनले राज्यमा भाजपाको सत्ता आउनबाट रोक्नका लागि यस महागठबन्धनमा टिएमसीलाई पनि सामेल गर्न सुझाएका छन् । उनले विहार चुनावको शिक्षा लिएर धर्मनिरपेक्ष राजनीतिक पार्टीको चुनावमा एकता हुनुपर्ने सुझाब दिएका हुन् । भाजपा पश्चिम बंगालको राजनीतिमा शक्तिशाली बनेको हुँदा उसविरुद्ध चुनावमा भिड्नका लागि बाँकी दल मिल्नुपर्ने पटवर्धनलाई लागेको हुन सक्छ । 

(झा भारतका वरिष्ठ पत्रकार तथा मिडियाभिजिलका स्तम्भकार हुन्) 
मिडियाभिजिलबाट

 

सुझावित समाचार