सरकारले घोषणा गरेको नौ महिनापछि बल्ल कोरोना प्रभावित व्यवसायको निरन्तरता दिने कर्जा कोषमा सरकारले १५ अर्ब रुपैयाँ जम्मा गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न तथा व्यवसाय सञ्चालनका लागि सरकारले यस्तो कोष बनाउने चालू आवको बजेटमा घोषणा गरेको थियो । तर, अहिले जम्मा भएको रकम कोषको निर्धारित आकारको ३० प्रतिशत मात्रै हो ।
कोषमा आयल निगमबाट ५ अर्ब, राष्ट्र बैंकबाट ३ अर्ब, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषबाट २/२ अर्ब रुपैयाँ आउने निश्चित भएको हो । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनी, कर्मचारी सञ्चय कोष, नेपाल सरकारले १ अर्बको दरमा जम्मा गर्ने भएका हुन् । राष्ट्रिय बिमा संस्थानले ५० करोड रकम कोषमा दिने भएको छ । सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको संस्थाबाट कोषका लागि रकम लिँदा बढीमा ५ प्रतिशत ब्याज दिइनेछ ।
कोषमा अहिले १५ अर्ब जम्मा भइसकेको र थप १५ अर्बको पनि प्रतिबद्धता आइसकेको अर्थसचिव शिशिरकुमार ढुंगानाले बताए । उनले भने, ‘यस्तो कर्जाको माग धेरै नभएको बुझिएको छ, कर्जाको माग बढ्दै जाँदा बाँकी रकमसमेत जम्मा हुनेछ ।’ अर्थ मन्त्रालयले यसै साताबाट कर्जा जारी हुने उल्लेख गरेको छ ।
कर्जा लगानी सम्बन्धमा कार्यविधि बनिसकेकाले केही दिनबाट कर्जा लगानी हुने राष्ट्र बैंकले जनाएको छ । ‘अहिलेसम्म यस्तो कर्जाको माग कति छ भन्ने प्रक्षेपण गरिएको छैन,’ नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘तर, कसैलाई कर्मचारीलाई तलब दिनै र व्यवसाय चलाउनै समस्या भए कर्जा दिइनेछ, लगानी सुरु हुन भने केही दिन लाग्न सक्छ ।’
स्रोत सुनिश्चितता नहुँदा अर्थ मन्त्रालयमा लामो समय यसको कार्यविधि रोकिएको थियो । अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडाको पदावधि सकिएको कारणसमेत ढिला भएको अर्थ मन्त्रालयले बताउँदै आएको थियो । मंसिरमा कर्जासम्बन्धी कार्यविधि पारित भएको हो ।
सोमबार मात्रै व्यवसायीहरू यस्तो कर्जा चाँडो जारी गर्ने माग गर्दै अर्थ मन्त्रालय पुगेका थिए । ‘हामीलाई सक्दो चाँडो पुँजी आवश्यक छ,’ होटेल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विनायक शाहले भने, ‘साउनदेखि नै हामीले बैंकहरूमा माग गर्दै आएका हौँ ।’ सबै कर्मचारीलाई ३१ डिसेम्बरसम्मका लागि निश्चित रकम तलबबापत दिने कर्मचारी संघसँग सम्झौता गरिएको उनले बताए ।
खातामा जम्मा भएको रकमबारे राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पाक्षिक जानकारी गराउने र कर्जा लगानीको जानकारी नेपाल बैंकर्स संघले साप्ताहिक रूपमा राष्ट्र बैंकलाई गराउनुपर्ने व्यवस्था छ । यस्तो कर्जा कोभिड–१९ बाट अतिप्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित क्षेत्रले प्राप्त गर्नेछन् ।
अति प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कुल रकम वा अधिकतम दश करोड रुपैयाँसम्म कर्जा दिन सकिने व्यवस्था छ । त्यस्तै, मध्यम प्रभावित क्षेत्रमा अधिकतम् सात करोड र न्यून प्रभावित क्षेत्रमा अधिकतम् पाँच करोड रुपैयाँ कर्जा जारी गरिनेछ ।
यो कोषबाट ५० प्रतिशत रकमसम्मको कर्जा अति प्रभावित क्षेत्रमा, ३० प्रतिशत मध्यम प्रभावित क्षेत्रमा र २० प्रतिशत न्यून प्रभावित क्षेत्रमा प्रवाह गरिनेछ । २ वर्षसम्मका लागि प्रवाह हुने यो कर्जामा ग्राहकलाई पहिलो वर्ष पाँच प्रतिशत र दोस्रो वर्ष ६ प्रतिशत ब्याजदर लाग्नेछ । कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरूले भने पहिलो वर्ष २ प्रतिशत र दोस्रो वर्ष तीन प्रतिशत ब्याज अनुदान प्राप्त गर्नेछन् ।
कोभिड–१९ बाट व्यवसाय प्रभावित भएको, सरकारको कुनै निकायमा दर्ता भई प्रमाणपत्र प्राप्त गरेको र नियमित नवीकरण भएको, श्रमिक वा कर्मचारी संख्या न्यूनतम पाँचजना भएको व्यवसायले कर्जा प्राप्त गर्नेछन् । त्यस्तै, यस्तो कर्जा पाउन श्रमिक वा कर्मचारीलाई आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि फागुन मसान्तसम्म नियमित ज्याला वा तलब भुक्तानी गरेको तथा प्रचलित कानुनबमोजिम अग्रिम आयकर कट्टी गरी दाखिला गरेकोसमेत हुनुपर्नेछ ।
सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाहरू र दातृ निकायबाट सहुलियत ब्याजदरमा कर्जा वा सहायता उपभोग गरिरहेका ऋणीहरूले भने यस्तो कर्जा पाउने छैनन् । बैंकहरूले ऋणीबाट निवेदन प्राप्त भएको १५ दिनभित्र निवेदनको मूल्यांकन गरेर कर्जा प्रवाह गर्नुपर्नेछ ।