भलिबललाई पहिलो प्रेम मान्छिन्, अरुणा

मंगलबार, ७ पुष, २०७७
डिजिटल संस्करण

गत वर्ष नेपाली भूमिमै सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले महिला भलिबलबाट ऐतिहासिक रूपमा रजत पदक प्राप्त गरेको थियो । नेपालले यो सफलता प्राप्त गर्नुको पछाडि कप्तान अरुणा शाहीको योगदान मुख्य रह्यो । अरुणाको पहिलो लक्ष्य नै नेपाललाई स्वर्ण दिलाउनु थियो । तर, लगातार तीन सेटमा चुक्दा उनको सपना राखेपको कभर्ड हलमा तुहियो । यद्यपि उनी नेपाललाई सागमा भलिबलबाट रजत दिलाउन सफल भइन् । 

नेपाली महिला भलिबलमा सबैभन्दा बढी चिनिनेमा अरुणाकै नाम आउने गर्छ । २७ वर्षीया यी चेलीले १४ वर्ष भलिबलका लागि समर्पित गरिसकेकी छिन् । भलिबलको इतिहासमा २०७६ को बेग्लै महत्व रह्यो । यही वर्षको उपलब्धिले देखाउँछ, यो खेलमा नेपालको सम्भावना पनि उत्तिकै उज्ज्वल छ । नेपालले त्यो वर्ष एभीसी सेन्ट्राल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण जितेको थियो । यो महिला भलिबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।

अरुणा म्याग्दी रघुगंगा गाउँपालिकाकी सान हुन्, अझ यो भौगोलिक घेरा तोडेर देशकै इज्जतसमेत बढाएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष ०७६ को पल्सर स्पोर्टस् अवार्डको लोकप्रिय खेलाडी विधामा अरुणा पनि मनोनयनमा परेकी छिन् । भलिबल खेलमा पुर्याएको योगदानका लागि धेरैभन्दा धेरै मत दिएर जिताउने काम अब खेलप्रेमीको हो । 

१३औँ दक्षिण एसियाली खेलकुदमा महिला भलिबलको फाइनलमा नेपालको प्रतिद्वन्द्वी थियो, भारत । स्वर्णको प्रतिस्पर्धामा नेपालले सुरुआती दुई सेट जितेको थियो, सबैलाई लागेको थियो, अब स्वर्ण नेपालकै हो । तर, त्यस्तो भएन, नेपालले त्यसपछि तीन सेट गुमायो । यो तीन सेट गुमाएको मात्र थिएन, स्वर्ण नै गुमाएको थियो ।

अरुणालाई मुखमै आएको भात खोसिएको जस्तै लागेको थियो । फाइनल खेल के सकिएको थियो, सबै खेलाडीले मन नै थाम्न सकेनन्, कोर्टमै रोए । अरूवेला खासै रुन नपर्ने अरुणाले पनि आफूलाई रोक्न सकिनन्, अविरल आँसु बगिहाल्यो । त्यसो त अरुणा खासै बोलिरहने खालकी होइनन्, तिनलाई हल्का अन्तरमुखीभन्दा पनि हुन्छ । कप्तान भएयता उनलाई बोल्नु परेको छ । तर, कम बोल्न सबैले जस्तै उनले पनि सपना भने धेरै देख्छिन्, त्यो पनि दिउँसै । 

See More On

सुझावित समाचार