सेयर बजार एकै दिन करिब सय अंकले घट्दा कारोबार रकमले भने हालसम्मकै दोस्रो ठूलो कारोबार रकमको रेकर्ड कायम गरेको छ । यसअघि १४ मंसिरमा एकै दिन ९ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आइतबार ९ अर्ब ४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । नेप्से परिसूचक भने ९६ दशमलव ८८ अंक अर्थात् ४.७७ प्रतिशतले घटेर १ हजार ९ सय ३५ मा आएको हो ।
आइतबार बिहान प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै खुलेको बजार घट्दो क्रममा देखिए पनि आधा घन्टामै सम्हालिने प्रयासमा देखिएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले सिफारिस अनुमोदन गरेसँगै बजारले पटक–पटक सम्हालिन गरेको प्रयास निरर्थक भयो ।
सेयर बजारमा राजनीतिको प्रभाव लामो अवधिसम्म नदेखिने गरेको भए पनि मुलुकमा अस्थिरता निम्तिने आशंकामा सेयर बेच्न हतारिनेको संख्या धेरै रह्यो । यही कारण कारोबारमा आएका १ सय ९८ विभिन्न धितोपत्र र ऋणपत्रमध्ये १ सय ७९ वटामा लगानीकर्ताले मूल्य घटेरै सेयर बिक्री गरे ।
यो दरमा बजार घट्दा पनि कारोबार रकम बढ्नुमा राजनीतिक प्रभाव बजारमा केही दिनलाई मात्र रहने अनुमानमा पनि भएको देखिन्छ । आइतबार नै राष्ट्रपतिबाट सिफारिस सदर नहुने अपेक्षामा पनि केहीले थप लगानी गरेका थिए ।
‘यो राजनीतिक घटनाक्रम ठूलो हो,’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले भने, ‘राजनीतिमा लागेको कालो बादलको प्रभाव बजारमा पर्छ नै, तर यो परिदृश्य केही समयमा सफा हुँदै जान्छ, अहिले सबै सकिएको जसरी सेयर बजारबाट भागिहाल्नुपर्ने अवस्था आएको भने होइन ।’
केही दिनमा सेयर ब्रोकर कमिसन घट्ने लगभग निश्चित जस्तै भएकाले पनि बाठा लगानीकर्ताले घटेको बजारमा खरिददारी बढाएको देखिन्छ । आफूलाई नाफा नै रहेको अवस्थामा लगानीकर्ताले हाल प्रतिफल सुनिश्चित गर्नु सही भए पनि नोक्सान हुने गरेर बिक्री गर्नुभन्दा पर्ख र हेरको अवस्थामा बस्नु सही हुने बजार सरोकारवाला बताउँछन् ।
तरलता, ब्याजदरको अवस्था पूर्ववत् नै रहेको र ब्रोकर कमिसनसमेत घट्ने सम्भावना देखिएकाले पर्खनु सही हुन सक्छ । उच्च मूल्यका कम्पनीहरूमा प्रतिफल सुनिश्चित गर्न सकिने देखिएमा त्यसै गर्नु उपयुक्त हुन सक्छ ।
यस दिन कारोबारमा आएका सबै समूहगत परिसूचक घटेका छन् । युनाइटेड इर्दी, माहुली सामुदायिक लघुवित्त, बेस्ट फाइनान्स, हिमालयन डिस्टिलरी, एनआइसी एसियालगायतको सेयर मूल्य भने बढेको छ । आइतबार पहिलो कारोबार भएको युनाइटेड इर्दीको १०–१० कित्ताका दरमा कारोबार भएको हो । २ सय ९६ बाट पहिलो कारोबार भएको युनाइटेड इर्दीको ३ सय २५ रुपैयाँसम्ममा अन्तिम कारोबार भयो ।
लाभांश प्रस्ताव
लक्ष्मी लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र ८ दशमलव ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।बुटवल पावर कम्पनीको पनि शुक्रबारको सञ्चालक समितिको बैठकले १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयरको घोषणा गरेको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकले आइतबार १३ प्रतिशत बोनस सेयर र ५ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । एनसिसी बैंकले पनि १० दशमलव २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ ।