संसद् विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै जनता समाजवादी पार्टीले यो कदम अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको बताएको छ । विज्ञप्ति निकाल्दै जसपाले यस कदमको विरोध गरेको छ ।
जसपाले निकालेको वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस असंवैधानिक र अलोकतान्त्रिक कदमको पार्टी जोडदार विरोध गर्दछ । प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो । यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ । त्यसर्थ सम्पूर्ण पार्टी पंक्ति र आमनागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौँ ।’