जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गरेर गैरजिम्मेवारीपूर्ण हर्कत गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘यो लोकतन्त्रको मर्मविपरीत छ, संविधानको प्रावधानविपरीत छ । दुईतिहाइनजिकको नेकपाको सरकार बन्दा पनि प्रधानमन्त्रीले गैरजिम्मेवारीपूर्ण हर्कत गरेकोले यो लोकतन्त्रको हितमा छैन, सबैतिरबाट प्रतिवाद गरिनुपर्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले सरकारको यो कदमले हिजो संविधानसभाबाट ल्याएको सुधारिएको संसदीय प्रणालीको धज्जी उडाएको आरोप लगाए । ‘नयाँ संविधानमा हामीले देशमा राजनीतिक स्थिरता कायम गर्नका निम्ति प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष कायम गरेका थियौँ । विगतको अस्थिरतालाई ध्यान दिँदै बीचमा नै संसद् विघटन गरेर अस्थिरता निम्त्याउन नदिने प्रावधान राखेका थियौँ, त्यसविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको खबर प्राप्त भएको छ, यो अन्त्यन्त दुःखद छ । यसले हिजोकै अस्थिरता निम्त्याएर हामीले जुन संविधानसभाबाट सुधारिएको प्रणाली ल्यायौँ त्यसको धज्जी उडाएको छ,’ उनले भनेका छन् ।