सदा परिवारलाई चिसो छल्न कम्बल र त्रिपाल

नयाँ पत्रिका फलाेअप

शनिबार, ४ पुष, २०७७
डिजिटल संस्करण

विपन्न गरिब परिवारलाई चिसोबाट जोगिन र भत्किएको घर अस्थायी रूपमा छानो हाल्न सिराहा नगरपालिकाले कम्बल, त्रिपाल वितरण सुरु गरेको छ ।

नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि सिराहा नगरपालिकाले चिसोबाट जोगिन वडा नम्बर १७ खैरटो टोलका विपन्न मुसहर परिवारलाई कम्बल र त्रिपाल वितरण गरेको हो । 

सिराहा नगरपालिका १७ का पाँच बालबालिकासहित बस्दै आएका निर्मला सदाको घर गत वर्षको बाढीले भत्काएको थियो । 

घर टेकोको भरमा अडिएको थियो । चिसो बढेसँगै ससाना बालबालिकासहित बस्दै आएका सदाका परिवारलाई न्यायोका लागि कम्बल, त्रिपाल वितरण गरिएको सिराहा नगरपालिकाका मेयर अशेश्वरप्रसाद यादवले बताए । 

सदाको घरसँगै सडकछेउमा बनाइएको नालाको ढक्कनमाथि झुप्रो बनाएर बस्दै आएकी ६२ वर्षीया पलासो सदालाई पनि नगरपालिकाले कम्बल, त्रिपाल दिएको मेयर यादवले बताए । उक्त वडाका १५ विपन्न घर–परिवारलाई कम्बल र त्रिपाल वितरण गरिएको मेयर यादवले बताए ।

चिसोबाट जोगिन नगरपालिकाले कम्बल, त्रिपालसँगै टोलटोलमा घुर ताप्ने बन्दोबस्ती गरिएको सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताए । चिसोबाट जोगिन दुई हजार विपन्न परिवारलाई कम्बल वितरण गर्ने थालनी भएको उनले बताए ।

चिसोका कारण सिराहा जिल्लामा चारजनाको मृत्यु भएको छ । 

सुझावित समाचार