३४ वर्षदेखि कालिमाटीको तरकारी बोक्ने गाडीमा सिन्डिकेट, महँगोमा तरकारी खान बाध्य उपभोक्ता

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

कालिमाटीको तरकारी बजारमा ३४ वर्षदेखि तरकारी बोक्ने ढुवानी गाडीमा सिन्डिकेट रहेको पाइएको छ ।

कालिमाटी तरकारी बजारमा कालोप्लेटको चारपाङ्ग्रे  भ्यानले भित्रका विभिन्न स्थानमा तरकारी ढुवानी गर्दै आइरहेका छन् । तर, यातायात व्यवस्था विभागले अहिलेसम्म तरकारी ढुवानीका लागि कालोप्लेटको भ्यानका थप  दर्ताका अनुमति दिएको छैन । 

जसको कारण यतिवेला कालिमाटी तरकारी बजारमा निजी सवारीसाधनका गाडीले तरकारी तथा फलफूल ढुवानी गर्दै आइरहेका छन् । निजी रातोप्लेटको गाडीले  तरकारी ढुवानी गर्दा  तरकारी व्यवसायीसँग मूल्य बढी लिने  र व्यवसायीले पनि  भाडाको मूल्य थप जोडेर तरकारीको मूल्य बढाउने गरेका छन् ।

कालिमाटी तरकारी बजारमा तरकारी ढुवानीका लागि भन्दै  कालोप्लेट नम्बर भएको ट्याम्पुका लागि ०४३  सालदेखि ०४८ सालसम्ममा तीन सय  ५० वटा ढुवानीका लागि दर्ता भएका थिए  । 

जुन नितान्त  कालिमाटीबाट  उपत्यकाका विभिन्न भागमा तरकारी ढुवानीका लागि प्रयोग हुन्थे । ०४८ भन्दा अघि भने  त्यहाँ  थप ट्याप्पु दर्ताका लागि बन्द गरियो । त्यसको १२ वर्षपछि ०६० सालमा त्यसभन्दा अघि चलेका ट्याप्पुलाई विस्थापित गरी ०६० साल भदौ २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले  ट्याप्पुलाई हटाएर  कालोप्लेटको चारपाङ्ग्रे भ्यान  दर्ता गरेर सञ्चालनमा ल्याइएको थियो ।

त्यसमा पनि जतिवटा पहिला दर्ता भएका थिए  त्यति नै संख्यामा मात्र  तीन सय ५० वटा चारपाङ्ग्रे  दर्ता भएका थिए । जुन हिसाबले नयाँ थप गाडी थपिएनन् । त्यसमा भनिएको मुख्य कारण नै सिन्डिकेट रहेको सार्वजनिक सवारीसाधनका  भाडा निर्धारण अभियान्ता प्रेम थापा बताउँछन् । सिन्डिकेट खारेज भएर पनि कालिमाटीको तरकारी ढुवानीमा उही नियति वर्षौँदेखि दोहोेरिइरहेको थापाको भनाइ छ ।

‘त्यतिबेला  सिन्डिकेट भएकै कारणले  जति मात्रमा ट्याप्पुको संख्या त्यति नै किन थपियो ? त्यसमा तीन सय ५१ वटा पनि हुन सक्थ्याे,  यो भनेको सरासर  उपभोक्तालाई  ठग्ने काम भएकोे छ,’ उनले भने । सरकारले ०७५ साल वैशाख ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यातायात  समितिलाई खारेज गऱ्याे । नयाँ  ऐन  जारी गर्दै सवारीसाधनलाई पञ्जीकरण गराउनेसम्मको  व्यवस्थालाई कार्यान्वयनमा  ल्यायो । तैपनि कालिमाटीमा सिन्डिकेटको  झल्को दिने कार्य भइरहेको छ ।

कालोप्लेटको भन्दा रातोप्लेटको वर्चश्व 

कालिमाटी तरकारी बजारमा अहिले कालोप्लेटकोले भन्दा रातोप्लेटको  गाडिले तरकारी  ढुवानी धेरै गर्न थालेको वर्षौँ भएको छ । रातोप्लेटको गाडी भनेको निजी प्रयोजनका लागि चल्ने  सवारीसाधन हो । जसमा  रातोप्लेटको  गाडीले  तरकारी बोक्दा महँगो भाडा लिने गरेको पाइन्छ । कालिमाटीबाट बल्खुसम्म तरकारी ढुवानी गरेको मूल्य ३५ सय देखि चार हजारसम्म लिने गरेको  ढुवानीकर्ता बताउँछन् ।

कालोप्लेटका भ्यानको  भाडा घटाउने र बढाउने काम  यातायात  व्यवस्था  विभागले गर्दछ । विभागले  हालसम्म  पनि कालोप्लेट चारपाङ्ग्रे दर्ता ढुवानीका लागि खुला गरेको छैन । 
 
हाम्रो अधिकारमा छैन : कालिमाटी तरकारी बजार समिति

कालिमाटी तरकारी बजारमा जुनसुकै सवारीसाधनले तरकारी तथा  फलफूल  ढुवानी गरेको भए पनि समितिले रोक्न नमिल्ने कालिमाटी तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए । 

कालोप्लेटको सवारीसाधन भन्दा रोताप्लेटको तरकारी ढुवानी गर्ने संख्या बढी रहेको  श्रेष्ठले बताए । ‘अन्य गाडीले तरकारी बोकेर हामीलाई घाटा भयो भनेर त केही समूहहरू आउने त गर्दछन्, तर समितिलाई रोक्ने अधिकार  कतैबाट  पनि आएको छैन,’  श्रेष्ठले नयाँ पत्रिकासँग भने । त्यस्तै यसको मुख्य जिम्मेवार यातायात व्यवस्था कार्यलय र ट्राफिक प्रहरी हुनुपर्ने उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् ।

‘हामीले कुरा उठाएको पनि हो, तर यसबारे खासै चासो दिने काम भएन,’ तिमल्सिनाले भने ।

 अनुगमन गर्न सकिन्छ, अनुगमन गर्छौँ : विभाग
    
विभागलाई यस विषयमा  गुनासो  आएको भन्दै ट्राफिक प्रहरीको  समन्वयमा अनुगमन गर्ने कारबाही अघि बढाउने यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिए । ‘यस विषयमा हामी आइतबार थप छलफल गरेर यस विषयमा छिट्टै  निर्णय गर्ने र अनुगमन  गर्छौं,’ भुसालले  भने ।
  

सुझावित समाचार