विश्वका पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्री पनि बने कोरोनाको सिकार

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणबाट संसारभरि अहिलेसम्म १६ लाख ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

तीमध्ये अधिकांश सर्वसाधारण छन् भने केही प्रभावशाली र चर्चित व्यक्तिहरूको पनि कोरोनाका कारण जीवन अन्त्य भएको छ । 

विशेष गरेर दीर्घरोगी र वृद्धावस्थाका व्यक्तिलाई बढी प्रभावित पार्ने भएकाले मृत्यु भएकाहरू पनि अधिकांश उमेर धेरै भएकाहरू रहेका छन् । 

त्यसैगरी मृत्यु हुनेमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनुपर्ने र कोरोना भाइरस फैलिएको वेलामा पनि आफ्नो काम रोक्न नमिल्ने जिम्मेवारीमा रहेकाहरू पनि धेरै रहेका छन् । 

झन्डै एक वर्षको अवधिमा एक हजारभन्दा बढी प्रतिष्ठित व्यक्तिहरू, सेलेब्रिटीहरू कोरोनाको सिकार भएका छन् । कोरोनाका कारण निधन भएर विश्वभरि चर्चा भएका व्यक्तिहरूको सूचीमा चिनियाँ चिकित्सक लिवाङ उडोङकाे नाम सबैभन्दा पहिला आउँछ । 

उनी कोरोनाका कारण जीवन गुमाउनुपरेका पहिलो चिकित्सक हुन् । उनको जनवरी २५ मा चीनको हुवेईमा निधन भएको थियो । चीनबाट सुरु भएर केही समय चीनमा मात्रै फैलिएको कोरोनाका कारण जनवरी २७ मा चीनको हुङसीका पूर्वमेयर याङ सिआबोको पनि मृत्यु भयो । 

फेब्रुअरी ७ तारिखमा विश्वभरि अर्को दुःखद खबर फैलियो । कोरोना भाइरसको सबैभन्दा पहिला पहिचान गर्ने चिकित्सकको कोरोना संक्रमणबाटै मृत्यु भयो । 

कोरोनाको मुहान मानिएको उहानबाट आएको यो खबरले विश्वलाई थप चिन्तित बनायो । जसले कोरोना पत्ता लगाएको थियो, उसैले कोरोनाका विरुद्धमा औषधि पनि पत्ता लगाउला भन्ने धेरैले आशा गरेका थिए । उहाँको निधनले धेरैलाई निराश र दुःखी पनि बनायो । 

कोरोनाका कारण शीर्ष नेताहरूको निधनको क्रम भने इरानबाट सुरु भयो । महामारीबाट अत्यन्त प्रभावित भएको इरानका पूर्वउपराष्ट्रपति मोहम्मद मिरमोहम्मदीको फेब्रुअरी २९ मा निधन भयो । टर्कीको सेनाका पूर्वकमान्डर एटाक यल्मान मार्च १५ मा कोरोनासँग पराजित भए । 

त्यसैगरी फ्रान्सका पूर्वसिनेटर निकोलस अल्फोन्सी, बुर्किनाफासोका दोस्रो उपराष्ट्रपति रोज म्यारी कम्पाओर, नेदरल्यान्डका पूर्वसांसद ह्यारी आर्टस, इन्डोनेसियाका पूर्वसांसद इमाम सुरोसो, फ्रान्सका पूर्वसांसद पत्रिच डेभेडजिनको पनि कोरोनाका कारण मार्च महिनामा निधन भयो । 

मार्चमै गणतन्त्र कंगोका पूर्वप्रधानमन्त्री तथा पूर्वराष्ट्रपति जोयचिम योम्बी ओपांगाेकाे मार्च ३० मा निधन भयो ।  

अप्रिल लागेकै दिन सोमालियाका पूर्वप्रधानमन्त्री नुर हसन हसेन र सर्बियाका पूर्ववातावरण संरक्षणमन्त्री ब्रानिस्लाभ ब्लाजिकको कोरोनाकै कारण निधन भयो । 

हुसेनको उपचारका क्रममा बेलायतमा निधन भएको हो । सन् २०११ मा लिबियामा कार्यबाहक प्रधानमन्त्री बनेका मोहम्मद जिब्रिलको अप्रिल ५ मा इजिप्टको कायरोमा निधन भयो । 

त्यसैगरी अमेरिकाको विभिन्न राज्यका पूर्वराज्यसभा सदस्यहरू पनि कोरोनाको सिकार भएका छन् । स्पेनका पूर्वअम्बुड्सम्यान तथा पूर्वन्यायमन्त्री इन्रिक मुगिका र चिलीका पूर्वगृहमन्त्री सेर्गियो ओनोफ्रे जार्पाको क्रमशः अप्रिल १० र १९ तारिखमा निधन भयो । 

युरोपेली संसद्, क्याटलोनिया, ब्राजिल, अमेजन, हंगेरी, फिलिपिन्स, भेनेजुएला, इराक, दक्षिण अफ्रिका, होन्डुरसलगायतका देशमा पनि प्रदेश तथा केन्द्रीय संसद्का धेरै पूर्वसांसदहरूले कोरोनाका कारण ज्यान गुमाउनुपरेको छ । मृत्यु भएका पूर्वसांसदहरूमध्ये भारत, अमेरिका र ब्राजिलका धेरै रहेका छन् । 

ग्रिसका पूर्वस्वास्थ्यमन्त्री दिमित्रिस क्रेमास्तिनोस, बंगलादेशका पूर्वऊर्जामन्त्री अन्वारुल कबिर तालुक्दार, बंलादेशकै पूर्वस्वास्थ्य तथा परिवार कल्याण र पूर्वगृहमन्त्री मोहम्मद नसिम, सिरियाका पूर्वसंस्कृतिमन्त्री रियाद इस्माट, किगिस्तानका पूर्वन्यायमन्त्री मुकर चोल्पोन्बययेभ, रुसका पूर्वऊर्जामन्त्री भ्लादिमिर लोपुखिम, गुटेमालाका पूर्वविदेशमन्त्री हारोल्डो रोडासलगायतका धेरै देशका पूर्वमन्त्रीहरूलाई पनि कोरोनाका कारण गुमाउनुपरेको छ । 

पाकिस्तानी सिनेटका पूर्वउपाध्यक्ष सयद फजाल अघाको पनि कोरोनाका कारण निधन भएको छ । बंलादेशमा एकजना बहालवाला रक्षासचिव अब्दुल्लाह अल मोहसिन चौधारीको जुन २९ मा कोरोनाको उपचारका क्रममा मृत्यु भएको थियो । 

जुलाईको १३ तारिखमा यमनका पूर्वकार्यबाहक प्रधानमन्त्री हसन अल लावजीको निधन भयो भने उज्वेकिस्तानको संसद्का पूर्वअध्यक्ष मुसा येर्नियाजोभको जुलाई ३१ मा निधन भयो । फिलिपिन्सको निर्वाचन आयोगका पूर्वअध्यक्ष सिक्सटो ब्रिलान्टेजले पनि कोरोनाकै कारण जीवन गुमाए ।  

कोरोनाका कारण निधन भएका विश्वका ठूला मान्छेको सूचीमा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको नाम पनि रहेको छ । सन् २०१२ देखि २०१७ सम्म भारतको १३औँ राष्ट्रपति बनेका मुखर्जीको अगस्ट ३१ मा निधन भएको हो । 

उल्लेख गरिएकाबाहेक पनि धेरै नेता, कवि, कलाकार, राजनीतिज्ञहरूले कोरोनाका कारण ज्यान गुमाउनुपरेको छ । 

कतिपय नेताहरू जनताको सेवाकै लागि खटिरहेका वेला कोरोनाबाट संक्रमित भएका थिए भने कतिपय नेताहरू वृद्ध अवस्थामा भएकाले कोरोनालाई जित्न सकेनन् । 
(अन्तर्राष्ट्रिय समाचारमा आधारित)

सम्पादकको रोजाइ

सुझावित समाचार