विराटनगरका सञ्जय रौनियारले गाउँका सोझासीधा मानिसलाई गैरकानुनी कागजात गराएर बर्सेनि ऋणको चर्को ब्याज असुलेको खुलेको छ । विराटनगर महागरपालिका– ९ घोगापुल चोक बस्दै आएका ४५ वर्षीय मन्टु भन्ने सञ्जय रौनियारले गाउँका सोझासीधा गरिबलाई धितोसहित कपाली तमुसुक गराएर वर्षौँसम्म चर्काे ब्याज असल्दै आएको खुलेको हो ।
चर्काे ब्याज असुल्न रौनियारले आफू सहरमा बस्ने भए पनि ऋण लगानी गर्न भने मोरङको ग्रामीण क्षेत्रलाई चुनेका थिए । उनले विराटनगर पूर्वको भारतसँग सिमाना जोडिएका गाउँपालिकाहरू धनपालथान, जहदा र नगरपालिकाहरू सुनवर्षी र रंगेलीका गरिबलाई चर्काे ब्याज कबुल गराउँदै कागज गराएर मिटरब्याजको धन्दा चलाउँदै आएका थिए ।
कबोलेजतिको मिटरब्याजअनुसारको रकम नदिएमा रौनियारले ऋणीको जग्गा, घर वा गरगहाना जे राखेको भए पनि फिर्ता नदिने गरेका थिए । त्यसैले पटकपटक ब्याज तिरिसकेकोले धितो फुकुवा पाउने आसमा ऋणीहरू वर्षौँसम्म साहुकार रौनियारलाई कबाेलअनुसारको ब्याज तिरिरहन बाध्य हुन्थे ।
चर्को ब्याज असुलेर सर्वसाधारणको बिल्लीबाठ गराउने गरेको सूचना पाएपछि मोरङ प्रहरीले मिटरब्याजी रौनियारसँग सोधपुछ थालेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले रौनियारलाई सूचना आएपछि सोधपुछका लागि मात्र बोलाएको, तर पक्राउ नगरेको बताए ।
उनले घटना बुझ्ने काम भइरहेकोले रौनियार मिटरब्याजी हुन् वा हाेइनन् भनेर भन्न नसकिने बताए । डिएसी राईले भने, ‘रौनियार हाम्रो सम्पर्कमै छन् हामी घटना के हो अनुसन्धान गर्दै छौँ ।’
२९ मंसिरमा साहुकार रौनियार पक्राउ परेको थाहा पाएपछि उनको विरुद्ध उजुरी गर्नेहरूको प्रहरीमा लर्काे नै लाग्न थालेको छ । तर, प्रहरीले हालसम्म उजुरी लिएर कसैको जाहेरी दर्ता गरेको छैन ।