दुई विषयमा सहमति भयो, बाँकी केही भएन : प्रचण्ड

बिहिबार, २ पुष, २०७७
डिजिटल संस्करण

परिस्थिति जटिल अवस्थामा छ । पार्टीमा दुईथरी कुरा छ । एकथरी पार्टी फुटाउनुपर्छ भन्ने पनि पार्टीमै छन्, तर ठूलो पंक्ति, समर्थक, शुभेच्छुक जनता पार्टी एकता जोगाउनुपर्छ भन्नेमा छन् । हाम्रो जोड एकता जोगाउनेतर्फै छ ।

तर, हामीले मात्रै गरेर हुँदैन, सबैले रिअलाइज गर्नुपर्छ । हामी यहाँ आउनुभन्दा अगाडि केही छलफल गरेर आएका छौँ । साथीहरू यहीँ हुनुहुन्छ, उहाँहरूले पनि बताउनुहोला । अध्यादेश फिर्ता गर्ने र संसद् अधिवेशनका लागि दिन लागिएको निवेदन फिर्ता गर्ने समझदारी भएको छ ।

अध्यक्षहरूको प्रतिवेदन र पत्राचारहरू फिर्ता गर्ने कुरा भएको छैन, जस्ताको तस्तै छ । दुवै प्रतिवेदनमाथि अत्यन्त गम्भीर ढंगले छलफल गर्नुपर्ने, ठोस निष्कर्ष निकाल्नुपर्ने काम अझै बाँकी नै छ । प्रस्ताव फिर्ता लिने स्थिति छैन ।

जे विषय हो, कमिटीको बैठकमा राख्नुपर्छ : माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा

सहमतिबारे प्रधानमन्त्रीज्यूले केही भन्नुभएन । तपाईं र अर्का अध्यक्षबीच के सहमति भएको हो ? आजको सहमति के हो स्पष्ट गर्नुस् । तपाईंहरूबीच अध्यादेश फिर्ता लिने सहमति भएको हो । सांसदको निवेदन फिर्ता लिने सहमति हो कि होइन ? सहमति भएको हो भने त्यो पार्टी बैठकमा निर्णय हुनुपर्छ, यहाँ प्रस्तावका रूपमा राख्नुस् ।

पार्टीको बैठक चलिरहेका वेला दुईजना अध्यक्षबीचको सहमतिलाई मात्र कसरी मान्न सकिन्छ ? पार्टी कमिटीको निर्णयमा चल्ने कि दुई अध्यक्षको निर्णयमा ? जे विषय हो, कमिटीको बैठकमा राख्नुपर्छ, कमिटीको सहमति हुन्छ, त्यसबाहेकको सहमति त तपाईंहरूको निजी सहमति हुन्छ ।

देउवाजीसँग मैले पनि कुरा गरेको छु, उहाँले सहमति भएकै होइन भन्नुभएको छ, तर तपाईंले यहाँ अर्कै कुरा गर्दै हुनुहुन्छ । तपाईं त्यस्ता कुरा गर्ने ?

सुझावित समाचार