३५.५ मेगावाटको राहुघाट मंगले जलविद्युत्को शिलान्यास

बुधबार, १ पुष, २०७७
डिजिटल संस्करण

म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुइनेमंगले र वडा नम्बर–७, चिमखोला क्षेत्रमा निर्माण हुन लागेको राहुघाट मंगले जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ ।

टुँडी पावर कम्पनीले निर्माण गर्न लागेको ३५.५ मेगावाटको आयोजनाको बाँधस्थल बन्दीघाँटीमा शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्यसहित समुदायको विकासमा आयोजनाबाट रचनात्मक सहयोग हुने अपेक्षा व्यक्त गरे । 

जलविद्युत् आयोजनाले दग्नाम, चिमखोला हुँदै आयोजनास्थलसम्म पुग्ने अजिंगर भिरमा कडा चट्टानी पहाडलाई फोरेर सडक विस्तारको योजनामा समेत आयोजनाले सघाइरहेको अध्यक्ष भण्डारीले जानकारी दिए । 

४० महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको कुल लागत साढे ५ अर्ब रहेको कम्पनीका आवासीय इन्जिनियर प्रकाश तिमल्सिनाले जानकारी दिए ।

बन्दिघाटको मुहानदेखि ५ किलोमिटर लामो सुरुङमार्ग हुँदै ल्याइने पानीलाई चिमखोलाको मलाङस्थित विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने उनले बताए । ‘आयोजनाको पूर्वतयारीको काम सकेर निर्माणको चरणमा प्रवेश गरेका छौँ, ठेकेदार कम्पनीहरूसमेत कार्य क्षेत्रमा परिचालन भइसकेका छन्, आयोजनास्थल जाने मुख्य सडकको ट्र्याक निर्माणमा समेत आयोजनाले स्थानीय सरकारसँग सहकार्य गरिरहेको छ,’ उनले भने । 

आयोजनाको आउटलेट, इनलेट र अडिटको दायाँ र बायाँतर्फ दुई ठाउँ गरी चारतर्फबाट सुरुङ निर्माण गरिनेछ । आयोजनाको बाँध, पावरहाउस र पेनस्टक पाइप निर्माणको रामेछाप शेर्पा कन्स्ट्रक्सन र टनेल निर्माणको साउथ एसियन इन्फास्ट्रक्चरले ठेक्का लिएको छ । सुरुङ ठेकेदार कम्पनीले अडिट रहने घाँसीखर्कमा क्याम्प निर्माण गरी अडिट टनेलको तयारी गरेको छ । 

बाँधतर्फको ठेकेदार कम्पनीले बन्दी क्षेत्रमा क्याम्प र क्रसर उद्योगको पूर्वाधार निर्माण गरिरहेको छ । टुँडी पावर कम्पनीले भने चिमखोलाको सिस्नेरीमा आवासगृह (क्याम्प) निर्माणको तयारी गरेको छ । आयोजनाको विद्युत् अन्नपूर्ण गाउँपालिका–४, दानामा निर्माणाधीन २ सय २० केभी क्षमताको विद्युत् प्रसारण लाइन सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 

सुझावित समाचार