किसान आफ्नाबारे समाचार बनोस् भन्ने चाहन्छन्, तर त्यो समाचार मनगढन्ते नभएर वास्तविकतामा आधारित होस्
२६ नोभेम्बरका दिन दिल्ली हरियाणाको बीचमा पर्ने सिंघु बोर्डरमा प्रदर्शन गर्दै गरेका किसानको एउटा गुनासो थियो– ‘राष्ट्रिय मिडियाले हाम्रो प्रदर्शनलाई ध्यान दिइरहेका छैनन् । उनीहरूले सिमानामा भएको यत्तिको ठूलो बन्द पनि बन्द देख्न सकिरहेका छ्रैनन् र ? उनीहरूलाई किसानको कुनै अर्थ छैन ?’ त्यसको चार दिनपछि उनीहरूको गुनासो बेग्लै थियो, नाराहरूमा लेखिएका थिए– ‘गोदी मिडिया फर्क फर्क’ । ‘गोदी मिडिया’ अर्थात् ती मिडिया संस्थान, जो मोदी सरकारको तथाकथित काखमा बसेका छन् । यो कुरा उनीहरूसँग संवाद गर्दा पनि झल्किन्छ । मिडियाप्रति किसानको आक्रोश ३० नोभेम्बरमा जी पन्जाबीका संवाददाता र क्यामेरापर्सन त्यहाँ पुगेपछि बढेको देखिन्छ । दिउँसो १ः३० बजे संवाददाता वासु मनचन्दा लंगर बाँड्नका लागि बनेको मञ्चमा उभिएर वरपर केही बुढापाकासँग अन्तर्वार्ता गरिरहेका थिए । केही बेरमै प्रदर्शनकारीले जोर–जोरले चिच्याउँदै उनलाई बोल्न दिएनन् र केही मिनेटमै उनलाई प्रहरीतर्फ रहेको वैरिकेट कटाइदिए ।
उनलाई त्यहाँ लखेट्नेमध्ये एक किसान अर्शदीप सिंहले भने, ‘हामीले गोदी मिडियाका खिलाफ नारा लगाउँदै संवाददातामाथि पानी खन्याइदियौँ । यो सबै किन गरिएको हो भने ती संवाददाताले किसानहरूसँग अनावश्यक प्रश्न सोधेर उनीहरूको अपमान गरिरहेका थिए, जबकि सबै किसान कृषि कानुनका खिलाफ प्रदर्शन गर्न यहाँ आएका हुन् । प्रदर्शनमा सहभागी निरक्षर किसानसँग गोदी मिडियाले प्राविधिक प्रश्न सोध्नुको अर्थ नभएको उनको तर्क छ । उनले भने, ‘उनीहरू खासमा यहाँ अनावश्यक प्रश्न सोध्छन् र त्यसलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्छन् । हामीले पछिल्ला केही दिनमा यही व्यहोरेका छौँ ।’ खासमा यो सबै परिस्थितिको निर्माण केही मिडिया च्यानलले किसानको प्रदर्शनलाई खालिस्तानी कोण दिएपछि भएको हो । आफूहरूलाई खालिस्तानी भनिएको बारे केहीले भने, ‘वास्तवमा हामीलाई खालिस्तानी भन्नेहरू नै हिन्दुस्तानी होइनन् ।’ किसान आफ्नाबारे समाचार बनोस् भन्ने चाहन्छन्, तर त्यो समाचार मनगढन्ते नभएर वास्तविकतामा आधारित होस् भन्ने चाहन्छन् ।
यस्तो परिस्थितिमा मिडिया मात्र हाम्रो आशाको केन्द्र थियो, तर उनीहरूले पनि हामीलाई निराश मात्रै बनाए । अझ उनीहरूले त हाम्रो पिठ्युँमै छुरा प्रहार गरिदिए । केही मिडियाका पत्रकारले किसानले जिन्स पाइन्ट लगाउन सक्छन् र ? अंग्रेजी बोल्न सक्छन् र ? भनेर समेत प्रश्न गरे ।
प्रदर्शनमा सहभागी करनदीप सिंह भन्छन्– मिडियाप्रति किसानको आक्रोश एकाएक देखिएको होइन । उनले भने, ‘हामीलाई हरेक ठाउँमा निराशाको सामना गर्नु परिरहेको छ । सरकार जनताको विश्वासमा गठन हुन्छ, तर त्यहाँबाट निराशा हात लाग्यो । हाम्रो विश्वास सुरक्षाकर्मीमाथि थियो, तर त्यहाँबाट पनि निराशा हात लाग्यो । यस्तो परिस्थितिमा मिडिया मात्र हाम्रो आशाको केन्द्र थियो, तर उनीहरूले पनि हामीलाई निराश मात्रै बनाए । अझ उनीहरूले त हाम्रो पिठ्युँमै छुरा प्रहार गरिदिए । केही मिडियाका पत्रकारले किसानले जिन्स पाइन्ट लगाउन सक्छन् र ? अंग्रेजी कसरी बोल्न सक्छन् र ? भनेर समेत प्रश्न गरेको बताउँछन् । राजस्थानका किसान सुरविन्दर सिंहले भने, ‘मिडियाले सोध्ने यो कस्तो प्रश्न हो ?’ उनले भने, यस्तो लाग्छ मिडियाको दिमागमा एउटा छवि उकेरिएको छ कि किसान अंग्रेजी बोल्न सक्दैन र किसानले राजनीति बुझ्दैन, उनीहरू त बस, झुत्रे लुगामा देखिनुपर्छ, खाली खुट्टा हिँड्नुपर्छ ।’ सुरविन्दरले गुनासो गर्दै भने, ‘हामी उनीहरूको कथानकमा फिट हुन सकिरहेका छैनौँ भनेर हामीसँग नराम्रो व्यवहार गर्न मिल्छ ? हामी सफा, राम्रो देखिँदा उनीहरूको टिआरपी बढ्दैन भनेर मिडियाले यस्तो गर्न मिल्छ ?’
सोमबारका दिन सिंघु बोर्डरमा निकै धेरै पत्रकारले राम्रो फोटो लिनका लागि प्रदर्शन स्थलनजिकै एउटा पुरानो घरको माथि चढ्न प्रयास गरिरहेका थिए । पन्जाबका किसान हैप्पी सिंहले दृढतापूर्वक कसैलाई पनि त्यो घरमा चढ्न दिएनन् । जब उनलाई त्यस्तो किन गरेको भनेर सोधियो, उनले नवदीप सिंहको कुरा सबैका सामुन्ने ल्याए । नवदीप सिंह ती युवा हुन्, जसले पुलिसले पानी छ्याप्दा दृढतापूर्वक त्यसको प्रतिकार गर्दै गरेको भनेर विभिन्न फोटोमा भाइरल भए । त्यसको भोलिपल्ट प्रहरीले नवदीपलाई हत्या प्रयासको आरोप लगायो । प्रहरीको वैरिकेड छिन्नभिन्न पारेर प्रहरीमाथि ट्याक्टर चलाउने प्रयास गरेको भनी अभियोग दर्ता गरियो । हैप्पीले भने, ‘मिडियाको यसमा कुनै दोष छैन, तर यो भवन भोलि ढल्यो भने प्रहरी प्रशासनले यो भवन ढालेको झुटो मुद्दा हामीमाथि लगाइदिन्छ, त्यसैले यसमा कसैलाई पनि चढ्न नदिएको ।’ किसानको प्रदर्शनलाई लिएर भारतीय मिडियाले जसरी त्यसलाई कभर गरे, त्यो सबै देखेर हास्य कलाकार इन्द्रजित सिंह अवाक् हुन पुगे । त्यसपछि उनले हिन्दी, अंग्रेजी र पन्जाबीमा एटा पोस्टर छपाए, जसमा लेखिएको थियो– ‘जी न्युज, रिपब्लिक, आज तकले प्रदर्शन कभर नगर्नू । तिमीहरू फोक न्युज हौ । ३गोदीमिडिया ।’ उनका अनुसार किसान सबै मिडियासँग आक्रोशित छैनन् । बरु किसानको आक्रोश मुख्यतः टिभी च्यानलमाथि छ । उनी भन्छन्, ‘हामी मूर्ख होइनौँ । अन्जना ओम कश्यप र अर्णव गोस्वामीजस्ता एंकरले हाम्रा बारेमा के भनिरहेका छन् भन्ने हामीलाई थाहा छ । त्यसैले उनीहरूको सहयोग अथवा कभरेज हामीलाई चाहिँदैन ।
(निधि सुरेश न्युजलन्ड्रीकी पत्रकार हुन्)
न्युजलन्ड्रीबाट