नयाँ पत्रिकाकर्मी धौलाकोटीसहित आठ पत्रकार पुरस्कृत

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको ‘सुशासन पत्रकारिता पुरस्कार’बाट नयाँ पत्रिकाकर्मी प्रकाश धौलाकोटी पुरस्कृत भएका छन् । महानगरपालिकाले २६औँ स्थापना दिवसको सन्दर्भमा धौलाकोटीसहित विभिन्न सञ्चारमाध्यममा कार्यरत आठ पत्रकारहरूलाई सुशासन पत्रकारिता पुरस्कार प्रदान गरेको हो । 

पुरस्कृत हुनेमा कान्तिपुर टिभीकी सिर्जना बास्तोला, थाहा सञ्चारका अतिन आचार्य, बिजमाण्डुका दिनेश खड्का, खबरहवकी सविना कार्की, नामी साप्ताहिकका श्याम स्मृत श्रेष्ठ, नेवा मिडियाका विजयरत्न तुलाधर र लहनान्युज डटकमका सुरेन्द्रभक्त श्रेष्ठ छन् । नेपालभाषा टाइम्स र न्युज एजेन्सी नेपाल पनि पुरस्कृत भएका छन् । 

पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले नगद र प्रमाणपत्रसहित पुरस्कृत गरे । 

स्थापना दिवसका सन्दर्भमा महानगरले दुईजना जनप्रतिनिधि र दुईजना कर्मचारीलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कार, पाँचजना जनप्रतिनिधि र पाँचजना कर्मचारीलाई स्थानीय सेवा गौरव पदक प्रदान गरेको छ । यस्तै, विभिन्न गुठी, बाजा र जात्राका एक सय ७६ जना गुरुहरूलाई नगद ३० हजार रुपैयाँसहित सम्मान गरेको छ ।
 

सुझावित समाचार