समर्थन मूल्यमा धान बिक्री गर्न कृषकलाई मुस्किल

आइतबार, २८ मंसिर, २०७७
डिजिटल संस्करण
समर्थन मूल्यमा धान बिक्री गर्न कृषकलाई मुस्किल

नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा बिक्रीका लागि धान लिएर आएका ट्र्याक्टर । तस्बिर : नयाँ पत्रिका

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्न कृषकलाई मुस्किल परेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपालगन्जले टोकन प्रणालीमार्फत धान खरिद गर्ने नियम बनाएपछि धान बिक्री गर्न कृषकले कम्तीमा एक साता समय पर्खिनुपर्ने भएको छ ।

टोकन लिन मात्र कम्तीमा चार दिन धाउनुपर्ने बाध्यता भएको नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरका कृषक सुरेशकुमार यादवले बताए । ‘चार दिनपछि टोकन पाएँ । ट्याक्टरको धान खाद्य कम्पनीको गोदामसम्म लैजान अझै कति दिन पर्खिनुपर्ने हो थाहा छैन,’ धान बिक्रीका लागि कम्पनीको कार्यालयअगाडि पुगेका यादवले भने ।

जानकी गाउँपालिका–२ वनकटवाका सहदेवसिंह सरदारले पनि लामो लाइनमा बसेर धान बिक्री गर्ने टोकन पाए । त्यसलगत्तै उनले ट्याक्टरमा धान लोड गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नेपालगन्ज कार्यालयमा ल्याए । तर, सहजै गोदाममा पुर्याउन पाएनन् । पालो नआएकाले उनको ट्याक्टर फेरि लामो लाइनमा राख्नुपर्यो । ‘पहिले टोकन पाउन मुस्किल । पाएपछि ट्याक्टर गोदामसम्म पुर्याउन थप मुस्किल छ,’ उनले भने ।

समर्थन मूल्यमा धान बिक्री गर्न धेरै कसरत गर्नुपर्ने भएपछि डुडुवा–५ कम्दीका कमलेशकुमार मिश्रले सस्तोमा स्थानीय व्यापारीलाई बेचिरहेका छन् । उनले समर्थन मूल्यभन्दा सात सय कम अर्थात् प्रतिक्विन्टल दुई हजार ५० रुपैयाँमा धान बिक्री गरे । ‘टोकनका लागि एक हप्ता कुर्नुपर्ने, अनि पालो पाउन फेरि थप एक हप्ता कुर्नुभन्दा सस्तोमा धान बिक्री गर्नै ठीक लाग्यो,’ उनले भने ।

डुडुवा गाउँपालिका–४ उचे मसाहाका नियाज अहमद अन्सारीले पनि सस्तो मूल्यमा स्थानीय व्यापारीलाई धान जिम्मा लगाए । टोकनका लागि ६–७ दिन लाइनमा बस्नुभन्दा स्थानीय व्यापारीलाई सस्तोमा धान बिक्री गरेको उनले बताए । ‘धान पनि १०–१२ क्विन्टल मात्र थियो । टोकन लिन लामो लाइनमा बस्नुपर्ने झन्झट देखेर सस्तोमा बिक्री गर्न उचित लाग्यो,’ उनले भने ।

खाद्य कम्पनीको नेपालगन्जका प्रमुख निर्मल थापा भने कृषकको सजिलोका लागि टोकन प्रणाली लागू गरेको दाबी गर्छन् । जो पहिले आउँछ, उसैले पालो पाओस् भनेर टोकन प्रणाली लागू गरेको उनको भनाइ छ । ढिलो गरी पालो आउँदा पनि कृषकलाई सजिलो भएको उनको दाबी छ । ‘टोकन लिएका कृषक आफ्नो पालोमा आउँछन् । पालो नआएका कृषक आनन्दसँग आफ्नो घरमा बस्छन्,’ उनले भने ।

व्यापारीले धानको मूल्य घटाए
बाँकेका व्यापारीले फेरि धानको मूल्य घटाएका छन् । प्रतिक्विन्टल दुई हजार दुई सय रुपैयाँमा मोटो धान खरिद गर्दैै आएका कृषकले दुई हजार रुपैयाँमा धान बिक्री गर्न थालेको महेश गल्ला भण्डारका प्रोप्राइटर महेश साहुले बताए । ‘माथि’बाट धानको मूल्य घटेर आएकाले आफूहरूले पनि घटाएको उनको दाबी छ । उनका अनुसार मूल्य घटेपछि कृषकले धान बिक्री कम गरेको उनको भनाइ छ ।

See More On

सुझावित समाचार