नेता श्रेष्ठको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त, आइतबार सबै पार्टी कार्यालय बन्द हुने

शनिबार, २७ मंसिर, २०७७
डिजिटल संस्करण

कांग्रेसका केन्द्र र जिल्लास्थित सबै पार्टी कार्यालयहरु आइतबार बन्द हुने भएका छन् । पार्टीका पुर्वकेन्द्रीय सदस्य, काठमाडौं जिल्ला सभापति तथा प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति कांग्रेसले दुःख व्यक्त गर्दै आइतबार एक दिन सबै पार्टी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । 

शनिबार विहान पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शनिबार, आइतबार र सोमबार पार्टीका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने, १३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र काठमाडौं जिल्ला कार्यसमितिले भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ । 

८० वर्षीय नेता श्रेष्ठको मोडल अस्पतालमा उपचारको क्रममा शुक्रबार निधन भएको थियो । वि.स. २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ गरेका नेता श्रेष्ठ पटक पटक गरी १७ वर्षसम्म जेल परेका थिए । 

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेता श्रेष्ठ लोकतान्त्रिक मूल्य पद्धतिप्रति अविचलित आस्था, सादगीपूर्ण जीवन र निष्ठाको राजनीतिको प्रतिमूर्तिका रुपमा समेत परिचित थिए ।’ 

नेता श्रेष्ठले ३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गरेको मुख्यसचिव पौडेलले जानकारी दिए । 

उनी पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरुलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित सहायता समितिको सदस्य, २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट कांग्रेसकातर्फबाट उम्मेदवार र २०५६ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको सभापति, वि.सं. २०७२ मा जननायक बीपी कोइराला स्मृति ट्रष्टद्वारा बीपी सेनानी सम्मानबाट विभुषित भएका थिए । 
 

सुझावित समाचार