चितवनमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– ६ जलबिरेस्थित भित्री सडकखण्डमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आइरहेको ना.४च ५०५० नम्बरको बाेलेरो जिप अनियन्त्रित भई सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
बिजुली सर्ट हुन पुग्दा जिपका चालक इच्छाकामना गाउँपालिका– ६ का ३० वर्षीय निर्मल गुरुङ र सोही वडाकी २२ वर्षीया खिमाकुमारी गुरुङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन् । घाइतेहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार साँघुरो र कच्ची बाटोका कारण दुर्घटना भएको हो ।