नेपाल र भारतबीच ऊर्जा सहकार्यको विषयमा छलफल

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाल र भारतका ऊर्जासचिवहरूको अध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य विषयक भारत–नेपाल संयुक्त सञ्चालक समितिको आठौँ बैठक भिडियो कन्फ्रेन्समार्फत सम्पन्न भएको छ । बैठकमा ऊर्जासचिव दिनेशकुमार घिमिरेले नेपाली टोलीको नेतृत्व गरेका थिए भने भारतीय ऊर्जासचिव सञ्जीवनन्दन सहायले भारतीय पक्षको नेतृत्व गरेका थिए । 

बैठकमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा विभिन्न मन्त्रालय तथा भारतीय राजदूतावास, एनएचपिसी लिमिटेड, एनटिपिसी लिमिटेडलगायतका भारत सरकारअन्तर्गतको सार्वजनिक निकायका अधिकारीसहितको १७ सदस्यीय टोलीको सहभागिता रहेको भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गरेर जनाएको छ । 

भारत–नेपाल संयुक्त सञ्चालक समिति दुई देशका सरकारबीच ऊर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवं समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र हो । बैठकमा यस क्षेत्रमा भएका द्विपक्षीय पहल तथा प्रयासका प्रगतिबारे समीक्षा भएको छ । दुवै पक्षबीच नेपाली ऊर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकिङको विकास, अन्तरदेशीय प्रसारण लाइनको विकासबारे छलफल हुनुका साथै एसजेभिएन लिमिटेडद्वारा प्रवर्द्धित ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको प्रगतिको समीक्षा गरी उक्त परियोजनाको कार्यान्वयन द्रुत रूपमा अघि बढाउने सहमति भएको दूतावासले जनाएको छ । 

दुई देशबीच विद्युतको अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटीलाई छिट्टै अन्तिम रूप दिने भएका छन् । दुवै पक्षले दुई देशबीच ऊर्जाको क्षेत्रमा भएका सहकार्यलाई थप मजबुत बनाउनेलगायत एकीकृत ग्रिडको विकास एवं विस्तार, आवश्यकताअनुसार थप अन्तरदेशीय विद्युत् प्रसारण लाइनको निर्माण, नेपालको जलविद्युत् तथा सौर्य ऊर्जा परियोजनामा लगानीलगायतका प्रतिबद्धता दाेहोऱ्याएका छन् । 

सुझावित समाचार