थाई नरेशको अलोकप्रियता

शुक्रबार, २६ मंसिर, २०७७
डिजिटल संस्करण

शनिबार हजारौँ थाई नागरिक बैंककको ग्रान्ड प्यालेस जाने मार्गमा भेला भएका थिए । थाइल्यान्डको शाही परिवारसँग जोडिएको पहेंलो र गुलाबी रंगका कपडा लगाएका मानिस सन् २०१६ मा दिवंगत भएका थार्ई राजा भूमिबोल अदुजायदाको जन्मदिन मनाउन भेला भएका थिए । तर, त्योभन्दा धेरै मानिस शाही सुधारको माग गर्दै हालसालै सम्पन्न प्रदर्शनमा भेलामा देखिन थालेका छन् । अघिल्लो हप्ताको एक भेला थार्ई शाही परिवारको विशाल सम्पत्ति हेर्ने क्राउन प्रोपटी ब्युरो अगाडि हुने योजना थियो । सन् २०१८ मा भूमिबोलका छोरा तथा वर्तमान राजा बजिरालङकर्नले ब्युरोले हेर्ने ३० देखि ६० अर्ब डलरबराबरको सम्पूर्ण जायजेथामा प्रत्यक्ष तथा व्यक्तिगत निययन्त्रको माग गरे। 

प्रदर्शनअघि क्राउन प्रोपर्टी ब्युरोको विशाल भवन वरपर रेजर तार तथा रोड ब्लक लगाइएपछि आयोजकले प्रदर्शनस्थल सियाम वाणिज्य बैंकको मुख्यालयअगाडि सारे । राजा महाबजिरालङकर्न सो बैंकको सबैभन्दा ठूलो एकल सेयरहोल्डर रहेको विश्वास गरिन्छ । प्रदर्शनमा एकजना नेता पनुपोङ जाद्नोकले भिडलाई सम्बोधन गर्दै ‘करदाताको पैसा फिर्ता’ गर्न माग गर्नुपर्ने बताए । अगस्टमा प्रदर्शनकारीले ‘राजतन्त्रका समस्या समाधान गर्न’ दशबुँदे घोषणापत्र जारी गरेका थिए । त्यसको मुख्य सार राजाले राजनीतिसम्बन्धी अधिकार परित्याग गर्नुपर्छ भन्ने छ । अघिल्लो राजा भूमिबोलले पनि थाई लोकतन्त्रविरुद्ध कैयौँ कदम उठाएका थिए, तर थार्ईल्यान्डका जनता अहिलेका राजाविरुद्ध किन उठे ?

थाइल्यान्डको आधुनिक इतिहासमा राजाले पटक–पटक आफ्ना शाही विशेषाधिकार नाघेर कानुन मिचेको देखिन्छ । बजिरालङकर्नका पिता राजा भूमिबोलले लोकतन्त्रलाई गम्भीर असर पुग्ने गरी हस्तक्षेप गरेको इतिहास छ । थाइल्यान्डमा बनेका धेरै संविधानले राजतन्त्रलाई ‘राजनीतिभन्दा माथि’ भनेर परिभाषित गरेको छ । इतिहासकार थोङचाई विनिचाकुलको तर्क छ– ‘राजा भूमिबोलको शासनमा राजा ‘राजनीतिभन्दा माथि’ पदावली फेरिएर राजनीतिबाट अलग त रहने तर राजनीतिमाथि हाबी हुनलाई भन्ने भएको छ ।’

अघिल्ला राजा भूमिबोलले पनि थाई लोकतन्त्रविरुद्ध कैयौँ अलोकतान्त्रिक कदम उठाएका थिए, तर थाइल्यान्डका जनता अहिलेका राजाविरुद्ध किन अभूतपूर्व रूपमा सडकमा उत्रिए ?

राजा भूमिबोलको गैरन्यायिक शक्तिको अभ्यासलाई धेरै थार्ईले सहेका मात्र थिएनन्, उनले आमचुनावमा अभिव्यक्त लोकप्रिय चाहनाको उल्लंघन गर्दासमेत जनताले बेवास्ता गरेको देखिन्थ्यो । (राजा भूमिबोलको ७० वर्षको शासनकालमा उनले कैयौँ सैन्य कुको समर्थन गरेका थिए ।) भूमिबोलले असल चरित्रको देवतातुल्य मानिने ‘धम्मराजा’को गरिमालाई उच्च राखेले पनि उनीप्रति मानिस विरोधमा नउत्रिएको हुन सक्छ । उनी थाई जनतामाझ निकै लोकप्रिय थिए । विशेषतः सीमान्तकृत क्षेत्रमा विकास परियोजना लान जोड दिएकाले पनि उनी लोकप्रिय थिए । राजा महाबजिरालङकर्नले भने शासनमा आएको केही वर्षमै उनका पिताको निरंकुश चरित्र त हासिल गरे तर पिताको जस्तो आध्यात्मिक आकर्षण देखाउन सकेनन् । 

राजा भूमिबोलले आफ्नो राजनीतिक उद्देश्य प्राप्ति गर्न अन्य शक्ति प्रयोग गर्थे । उनले धेरैजसो त्यस्तो काम प्राइभी काउन्सिलमार्फत गराउँथे । कहिलेकाहीँ भने उनी ठूलै हस्तक्षेपको आह्वानसमेत गर्थे । यसको उदाहरण सन् २००६ मा देखिएको थियो, जब उनले देशको न्यायपालिकामार्फत राजनीतिक हस्तक्षेपको आह्वान गरेका थिए । 

त्यस समय उनले लोकतान्त्रिक चुनावी परिणाम नै रद्द गर्न अदालतसँग माग गरेका थिए । तर, राजा महा बजिरालङकर्नले अदालत वा प्राइभी काउन्सिलविनै सीधै हस्तक्षेप गर्न थालेका थिए । सन् २०१६ मा शासनमा आएलगत्तै राजा बजिरालङकर्नले सेनाले बनाएको नयाँ संविधानमा समेत संशोधन गर्न आग्रह गरे । संशोधनमा राजाले आफू लामो समय बस्ने जर्मनीबाटै शासन गर्न सकिने व्यवस्थाको माग गरेका थिए । अघिल्लो वर्ष उनले शाही घोषणामार्फत सेनाको दुईवटा एकाइ प्रत्यक्ष रूपमा आफ्नो नियन्त्रणमा हुने घोषणा गरे । 

सन् २०१९ को मार्चमा सम्पन्न चुनावमा थाई रक्सा चार्ट पार्टीले राजाकी जेठी दिदीलाई प्रधानमन्त्रीको उमेदवारको रूपमा चयन ग¥यो । राजाले तिनको उमेदवारी रोक्ने गरी शाही घोषणा जारी गरे । त्यस क्रममा उनले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही परिवारको अराजनीतिक हैसियतलाई प्रभावित बनाउन खेल खेलेको आरोप लगाए । पछि संवैधानिक अदालतले सो पार्टीलाई नै भंग गराइदियो । अघिल्लो वर्ष नै राजा महाबजिरालङकर्नले पूर्वअंगरक्षक सिनिनात वोङबजिरापक्डीलाई ‘शाही भित्रिनी’को दर्जा दिए । 

यस्तो पुरातन प्रथा एक शताब्दीअघि मात्रै अभ्यासमा थियो । तर, केही महिनापछि राजाले सिनिनातलाई दिएको दर्जा खोसे र एक शाही वक्तव्य जारी गर्दै सिनिनात इमानदार नरहेको र आधिकारिक रानी सुथिदा बजिरालङकर्नसँग प्रतिस्पर्धा गर्ने प्रयास गरेको आरोप लगाए । लगत्तैपछि सिनिनात दृश्यबाट हराइन् । उनी कैद भएको वा हत्या भएको हल्ला चल्यो । सेप्टेम्बरमा राजाले शाही भित्रिनीको दर्जालाई पुनस्र्थापना गर्दै उनलाई ‘खोटरहित’ घोषणा गरे । मेरो हिसाबमा सन् २०१६ देखि शाही घोषणाबाट २०० जना बर्खास्त वा कैद भएका छन् । तिनलाई कानुनी कारबाहीमा जाने सुविधा पनि दिइएको छैन । पछिल्लो केही वर्ष राजाको विरोध गर्नेविरुद्ध कानुनी कारबाही रोकिएको थियो । तर, विगत महिनामा प्रदर्शन बढेसँगै पुनः यो कानुन सक्रिय भएको छ । पछिल्लो समय जनताले यी कदमलाई राजाले सीमा नाघेको रूपमा हेर्न थालेका छन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
पविन चचभलपोङपन क्योटो विश्वविद्यालयको सेन्टर फर साउथइस्ट एसियन स्टडिजका एसोसियट प्राध्यापक हुन् ।

 

सुझावित समाचार