गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय ३० डिसेम्बरमा सकिँदै छ । तर, हालसम्म ९३ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । उनका अनुसार भौतिक पूर्वाधार निर्माणका काम सबै सकिएर उपकरण जडानको काम भने बाँकी छ ।
विमानस्थलमा एसीलगायतका उपकरण जडानका लागि चीन र थाइल्यान्डका कम्पनीबाट जनशक्ति आउनुपर्ने उनको भनाइ छ । तर, कोभिड–१९ का कारण उनीहरू आउन नसकेको उनले बताए ।
नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले विमानस्थल उपकरण जडानका लागि आउनुपर्ने विदेश जनशक्ति नआएका कारण निर्माण कार्य प्रभावित भएको बताए । जनशक्ति नआएको खण्डमा विकल्प के हो, त्यसबारे पनि आयोजनाले ठोस रणनीति बनाउनुपर्ने उनको भनाइ छ ।
कोरोना भ्याक्सिन कुर्दा विमानस्थल निर्माणमा ढिलाइ
विमानस्थल निर्माणका लागि आउने कामदार चिनियाँ हुन् । उनीहरू कोरोनाको भ्याक्सिन लगाएपछि मात्र नेपाल आउने भएकाले आयोजना निर्माणमा ढिलाइ भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । एरो थाई कम्पनीबाट आउने जनशक्ति ल्याउन भने पहल भइरहेको उनले बताए ।
नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै राष्ट्रिय गौरवको आयोजनामध्ये सबैभन्दा पहिला सकिने आयोजना हुने दाबी गरे । भट्टराईले अहिले कोरोना संक्रमणको महामारीका कारण जनशक्ति नआउँदा समस्या भए पनि जनशक्ति ल्याउन मन्त्रालयले पहल गरिरहेको जानकारी दिए ।
विमानस्थलको उपकरण जडानका लागि प्राविधिक जनशक्ति आवश्यक रहेको र कोरोनाका कारण विदेशबाट आउने अवस्था नरहेका कारण काममा ढिलाइ भएको उनले बताए । जनशक्ति पठाउन निर्माण कम्पनीले नखोजेको खण्डमा आयोजना आफैँ पनि अब बाँकी रहेको निर्माण कार्य पूरा गर्न सक्षम रहेको निरीक्षणका क्रममा बताए ।