डोल्पाली युवालाई नगरपालिकाले दिएन सूचना

मंगलबार, २३ मंसिर, २०७७
डिजिटल संस्करण

हिमाली जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिकाले सूचनाको हक कार्यान्वयनमा बेवास्ता गरेको छ । तीन वर्षयता नगरसभाबाट पारित विकास बजेट, कर्मचारीको खर्च विवरणलगायतका सूचना दिन अस्वीकार गर्दै आएको छ । 

स्थानीय युवा प्रेमबहादुर बोहोराले साढे दुई महिनाअघिदेखि ती सूचना माग्दै आएका छन् । लगातार प्रयास गर्दा पनि सूचना नपाएपछि बोहोराले सदरमुकाम दुनैमा पत्रकार सम्मेलन गरी आफूले सूचना नपाएको बताएका हुन् । ७५ दिनसम्म नगरपालिकाका विभिन्न फाँट धाउँदासमेत सूचना नपाएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उनको भनाइ छ । ‘देशको मूल कानुनमै सूचनाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ, तर ठूलीभेरी नगरपालिकाले संविधानप्रदत्त अधिकार कुण्ठित गरेको छ,’ बोहोराले भने, ‘नगरपालिकाका हरेक गतिविधि गैरकानुनी भएकैले सूचना दिन आलटाल गरिएको हुनसक्छ ।’

नगर केन्द्र विवादको फाइदा उठाउँदै नगरप्रमुखले आफ्नै डोजर प्रयोग गरी विकासमा अनियमितता गरेको, व्यक्तिगत योजना बाँडेको, वडामा छुट्याइएको विकास बजेट दुरुपयोग गरेको, कर्मचारीहरू सेवा प्रवाहमा कर्तव्यनिष्ठ नभएको लगायतका आरोप बोहोराको छ । 

अर्का स्थानीय युवा हरिनन्द बोहोराले सचेत युवाका रूपमा संविधानले दिएको अधिकार प्रयोग गर्न खोज्दा नपाएको जिकिर गरे । ‘एक सातामा पाइने सूचना करिब तीन महिना कुर्दा पनि पाएनौँ, अब एक सातामा पनि नपाए राष्ट्रिय मानवअधिकार आयोग, सूचना आयोगलगायतका उजुरी गर्नेछौँ ।’

नगरप्रमुख गणेशबहादुर शाहीले भने युवाले आरोप लगाएजस्तो नगरपालिकाको काममा आफूले डोजर प्रयोग नगरेको दाबी गरे । नगरका क्रियाकलापबारे जोसुकैले सूचना अधिकारीमार्फत सूचना पाउन सक्ने उनले बताए । 

सुझावित समाचार