सेयर बजारमा उच्च गिरावट

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण
सेयर बजारमा उच्च गिरावट

फाइल फाेटाे

सेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समयअगाडि नै कारोबार बन्द भएको छ । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ । 

यस्तै एक महिनामा चार सय अंकभन्दा बढीले बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्रीचाप बढाएकाले पनि बजार ओरालो लागेको हो । 

आइतबार मात्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १ सय २३ दशमलव ३४ अंकले घटेर एक हजार नाै सय ३२ दशमलव ११ अंकमा बन्द भएको छ । 

नेप्सेमा आज भएको गिरावट अहिलेसम्मकै उच्च हो । यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५१ प्रतिशत अर्थात् २१ दशमलव ६२ अंकले घटेर तीन सय ७० दशमलव ६७ अंकमा बन्द भएको छ । आज नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दा २ बजेर १४ मिनेटमा नै कारोबार बन्द हुन पुग्यो ।

दिनभर एक सय ९७ कम्पनीको सात अर्ब २० करोड ९१ लख ८० हजार दुई सय १३ रुपैयाँको एक करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्या ६१ हजार आठ सय ५८ रहेको छ ।
कारोबारमा आएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै अन्य समूह नाै दशमलव १३ प्रतिशतले घटेको छ । त्यसपछि जीवन बिमा समूह आठ दशमलव २६ प्रतिशत, उत्पादन तथा प्रशोधन सात दशमलव ५९ प्रतिशत, व्यापार समूह सात दशमलव ४२ प्रतिशत, लघुवित्त सात दशमलव ०३ प्रतिशत, निर्जीवन बिमा ५ दशमलव ७४ प्रतिशत, जलविद्युत् पाँच प्रतिशत, बैंकिङ ४ दशमलव ३३ प्रतिशत, होटेल चार प्रतिशत, विकास बैंक तीन दशमलव ४४ प्रतिशतले घटेका छन् ।

बजारमा सबैभन्दा धेरै कारोबार पुनर्बिमा कम्पनीको एक अर्ब १६ करोड रुपैयाँभन्दा बढीको भएको छ । बजारमा उच्च गिरावट आए पनि नौवटा कम्पनीका सेयरधनीले कमाएका छन् । रिलायन्स फाइनान्सका सेयरधनीले दुई दशमलव २९ प्रतिशतले कमाएका छन् । 

यस्तै हिमालयन बैंकको डिबेन्चर, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्सलगायतका कम्पनीका सेयरधनीहरूले कमाएका छन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् । 

यस्तै पुनर्बिमा कम्पनी, सान्जेन जलविद्युत् कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, हिमालयन जेनरल इन्स्योरेन्स कम्पनीलगायतका कम्पनीका सेयरधनीले पनि झन्डै १० प्रतिशतले गुमाएका छन् ।   

सुझावित समाचार