खाग तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाउँदा तस्कर नै घाइते

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

बुटवलमा खाग तस्करले प्रहरीको पेस्तोल खोसेर गोली चलाउँदा एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलका अनुसार बुटवल– ८ स्थित न्यू कलश होटेलमा गोली चलेको हो । 

गैँडाको खास तस्करहरूसँग रहेको आशंकामा प्रहरीले होटेलमा खानतलासी गरेको थियो । 

खाग छ कि छैन भनेर होटेलमा कोठा खानतलासी गर्ने क्रममा प्रहरीले खाग फेला पारेपछि तस्कर बसेको कोठाबाट प्रहरी बाहिर निस्किएका थिए । 

खाग तस्करहरू कोठाभित्रै रहेको अवस्थामा प्रहरीले बाहिरबाट कोठा बन्द गरेर थप मद्दतका लागि प्रहरी कार्यालयमा खबर गर्दै थिए ।

सोही क्रममा कोठाभित्र रहेका चारजना तस्कर कोठाको ठोका फोरेर बाहिर निस्किएका थिए । 

बाहिर निस्केलगत्तै एकजना तस्करले प्रहरीको पेस्तोल खोसेर फायर गरेको एसपी पोखरेलले नयाँ पत्रिकालाई बताए । 

गोली फायरबाट एकजना तस्करलाई नै गोली लागेको छ । कुम र गालामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

घाइतेको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते काठमाडाैंको रहेको प्रहरीको अनुमान छ । 

अन्य तस्करहरू दुईजना जाजरकोटको रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटना आइतबार बिहान नाै बजे भएको हो । 

दुईजना पक्राउ परेको र गोली हान्ने फरार रहेको प्रहरीले जनाएको छ । 
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

सुझावित समाचार