कौशलटारमा कार दुर्घटना, एकको मृत्यु, तीन घाइते

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

भक्तपुरको कौशलटारमा गएराति कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । 

चालकसहित तीन घाइते भएका छन् । दुर्घटनामा परी काठमाडौं महानगरपालिका– ४, धुम्बाराही बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको हो । 

लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, राधेराधेका २६ वर्षीय विजय देउजा र गाम्चाका सुदीप थापा घाइते भएका छन् । 

भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.८च ४७५६ नम्बरको कार मध्यराति पौने एक बजे अनियन्त्रित भई सडकबीचको फलामको रेलिङहरूलाई ठक्कर दिएर अर्को लेनमा गएर पल्टिएको थियो । 

दुर्घटनाको खबर पाउनसाथ घटनास्थल पुगेका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीका अनुसार मृतक महिला अचेत अवस्थामा फेला परेकी थिइन् । 

उनलाई उपचारका लागि मध्यपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

दुर्घटनापछि फरार भएका घाइते चालक आइतबार बिहानै प्रहरीको सम्पर्कमा पुगेका थिए । 

उनले भक्तपुरबाट काठमाडौं जाँदै गर्दा अनियन्त्रित भएर दुर्घटना भएको बताएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सुझावित समाचार