नेप्से करेक्सनतर्फ, सातामा ४० अर्बको कारोबार

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण
नेप्से करेक्सनतर्फ, सातामा ४० अर्बको कारोबार

फाइल तस्बिर

गत साता नेप्से परिसूचक १ सय ६२ अंक जोड्दै बजार बन्द भएको छ । अघिल्लो बिहीबार १ हजार ८ सय ९३ मा बन्द भएको बजार गत बिहीबार बजार बन्द हुँदा २ हजार ५५ मा आइपुगेको हो । 

२ हजार ७१ बिन्दुलाई हालसम्मकै उच्च बिन्दु बनाएर बजार करेक्सनमा जान लागेको हो । यद्यपि, यही बिन्दु उच्च रूपमा रहने भनेर यकिन गर्न भने सकिँदैन । यस साता बजारमा करेक्सनले केही दिन निरन्तरता पाउने सम्भावना बढेको छ । 

बिहीबार राष्ट्र बैंकले केही नीतिगत परिवर्तन गर्ने संकेतसहित मौद्रिक नीतिको समीक्षा गरेकाले पनि यस्तो सम्भावना बलियो बनेको हो । राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष कर्जा, सेयर धितोमा दिइने कर्जा र रियल इस्टेट कर्जामा कडाइ गर्ने संकेत दिँदै पुनरावलोकन गर्ने उल्लेख गरेको छ । असोजसम्ममा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ५९ अर्ब रुपैयाँ कर्जा जारी गरेका छन् । अन्य कर्जा ठप्पजस्तै हुँदा यो कर्जामा भने १८ प्रतिशतसम्म वृद्धि देखिएको हो । 

अन्तिम दिनमा आइपुग्दा अन्य सबै समूहको परिसूचक घटे पनि लघुवित्त र होटेल समूह बढेको थियो । समीक्षाअघि बजारमा लघुवित्त कम्पनीहरूको समेत पुँजी वृद्धि हुने हल्ला चलेको थियो । त्यो हल्ला प्रमाणित नभएपछि लगानीकर्तामा त्यही उत्साह भने कम हुन सक्ने देखिन्छ । तैपनि, तुलनात्मक रूपमा लाभांश दर उच्च भएका ठूला लघुवित्त कम्पनीहरूमा आकर्षण धेरै घट्ने सम्भावना भने छैन । कम्पनीहरूको मूल्य उच्च तहमा गइरहेकाले अन्य सबै लघुवित्तमा यस्तै आकर्षण नरहन सक्छ । 

गत साता बजारमा कारोबार भएका कम्पनीमध्ये माथिल्लो तामाकोसी जलविद्युत्को मूल्य सबैभन्दा धेरै ४६ प्रतिशतले वृद्धि भएको छ । साल्ट ट्रेडिङ, विशाल बजार कम्पनीको मूल्य सबैभन्दा धेरै २० प्रतिशत माथिले घटेको छ । 

साताभरमा कारोबार रकममा करिब ३० प्रतिशतले वृद्धि भएर ४० अर्ब ९८ करोड रुपैयाँबराबर भएको छ । दैनिक औसत कारोबार ८ अर्बभन्दा धेरै हुन थालेको छ । कारोबार रकम (२ अर्ब ८० करोड रुपैयाँ) र सेयर संख्या  (१८ हजारमाथि) दुवैका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । कारोबार संख्याका आधारमा भने ३१ लाखपटक सेयर किनबेचसहित प्रभु बैंक अग्रस्थानमा रह्यो । 

प्राविधिक विश्लेषण 
गत साता नेप्से परिसूचक अधिक खरिद क्षेत्रमा ओरालो लग्ने क्रममा रहेको छ । स्केल ९९ दशमलव ४३ मा रहेको नेप्सेको आरएसआई सूचक ९५ दशमलव ६४ मा आएको छ । यद्यपि, अहिले पनि बजार अधिक खरिदकै क्षेत्रमा छ । 

नेप्सेको ७ दिने रेखाले २१ दिने रेखालाई काटेकै अवस्थामा छ । यी दुवै रेखामाथि नेप्से परिसूचकको रेखा छ । यसले बजार बुलिस प्रवृत्तिकै रहेको संकेत गर्छ । यस्तो परिदृश्य फेरिन भने समय लाग्दैन । त्यसैले यी रेखाहरू याद गरिरहनुपर्ने देखिन्छ । 

अन्तिम दुई दिनमा नेप्सेले पहिलो दिन हरियो र दोस्रो दिन रातो मैनबत्ती बनाएको छ । पछिल्लो रातो मैनबत्तीको माथिल्लो धागो तल्लो धागोभन्दा लामो रहेकाले बजार माथि जाने पक्ष नै धेरै हाबी हुँदा पनि यो बलियोसाबित हुन नसकेको देखिन्छ । हरियो मैनबत्तीपछि बनेको रातो मैनबत्तीले बजार घट्न सक्ने संकेत गरिरहेको छ ।

तर, यसले बुलिस वा बियरिस प्याट्रन बनाएको भने संकेत गरिसकेको छैन । त्यसैले प्रवृत्ति बुझ्न अर्को दिनको कारोबार हेर्नु सही हुन्छ । तीन–तीन दिनका मैनबत्तीहरूमा निश्चित प्रवृत्ति देखिएमा मात्रै बजारको स्पष्ट दिशा पहिल्याउन सकिन्छ । 

See More On

सुझावित समाचार