प्रभावकारी बन्दै अनलाइन राजस्व प्रणाली

शनिबार, २० मंसिर, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख  ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व संकलन  कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ । त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा रु चार करोड ४४ लाख असुल गरेको कामपाले जानकारी गराएको छ । 
 
अहिलेसम्मा सबैभन्दा बढी वडा नं १ बाट रु तीन करोड सात लाख ५५ हजार, २६ वडाबाट रु २२ करोड ३५ लाख ५२ हजार र  सबैभन्दा कम वडा १८ बाट रु चार लाख ९८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख शिवराज अधिकारीले जानकारी दिए ।  

उनका अनुसार अनलाइन प्रणालीबाट राजस्व संकलन  कार्यलाई नागरिकले सहजसाथ लिएका छन् । कर तिर्नका लागि कार्यालयसम्म आउनुपर्ने र आएर पनि लाइन बस्नुपर्ने समस्याको अन्त्य भएको छ ।  यहीअनुरूप कर संकलन  भए लक्ष्यभन्दा बढी असुल हुनेछ । गत आवमा कोरोनाले असर पारे पनि लक्ष्यको ८३ प्रतिशत रकम असुल गरेको थियो । 

अनलाइन कर असुली कम्प्युटर सफ्टवेयरमा आधारित प्रणाली हो । यस प्रणालीको मुख्य काम कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुलीसम्बन्धी कामलाई स्वचालित बनाउनु हो । 

अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुईवटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् । यसमा करदाताले कामपालाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्यांकन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ । करदातासँग सम्बन्धित र सोधिएका र माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्यांकन गरेर तिर्नुपर्ने राजस्वको अंक देखाउँछ । यसबाट कसलाई कति रकम तिर्नुपर्ने हो करदातालाई थाहा हुन्छ । 

करदाताको विवरण पेस भएपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानुन र दरका आधारमा कर मूल्यांकनलाई रुजु गरी स्वीकृत गर्नेछन् । त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (इसेवा, कनेक्ट आइपियस, फोनपे, आइएमइपे, प्रभु पेलगायत)बाट भुक्तानी गर्न सक्नेछन् । रासस
 

सुझावित समाचार