इन्टरनेट र स्मार्ट फोनको बढ्दो पहुँचसँगै फैलिएको अनलाइन व्यापारलाई मध्यनजर गर्दै शुक्रबार इ–बिजनेस पोलिसी फोरम २०२० आयोजना हुने भएको छ । डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयुक्त आयोजना तथा इनोभेटिभ लिगल सर्भिस तथा नेपाल इन्टरनेट फाउन्डेसनको सहआयोजनामा भर्चुअल माध्यमबाट इ–बिजनेस पोलिसीबारे बृहत् छलफल हुन लागेको हो ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ई–बिजनेस पोलिसी फोरमका संयोजक बाबुराम अर्यालले इ–बिजनेससम्बन्धी नीति, कानुन तथा अभ्यासलाई सम्बन्धित सरोकारवालाको सहभागितामा गहन समीक्षा र विश्लेषण गरेर दिगो अनलाइन बिजनेसका उपाय पहिल्याउने लक्ष्य लिएको जानकारी दिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त वक्ताहरूको सहभागिता रहने उक्त फोरममा इ–कमर्ससम्बन्धी नीतिगत व्यवस्था, नेपालमा इ–कमर्सका अवसर तथा चुनौतीहरू, इ–कमर्स व्यवसायको दिगोपन, इ–कमर्सका क्षेत्रमा प्रतिलिपि अधिकार, इ–कमर्स र उपभोक्ता संरक्षणजस्ता विषयमा गहन छलफल हुने बताइएको छ ।
जुममार्फत गरिने फोरममा करिब तीन सयजनाको प्रत्यक्ष सहभागिता हुने अपेक्षा आयोजकको छ । यो कार्यक्रमको इन्डस्ट्री साझेदारका रूपमा प्रभु–पे तथा मिडिया पार्टनरको रूपमा टेकपाना अनलाइन, रेडियो पार्टनरको रूपमा सिटिजन एफएम रहेको छ । फोरमको कम्युनिटी पार्टनरको रूपमा क्याफे–डि–लिगल र जुरिस्ट एन्ड ल रहेका छन् ।