अधिक तरलता भएपछि बजारबाट ५० अर्ब उठाउँदै राष्ट्र बैंक

बुधबार, १७ मंसिर, २०७७
डिजिटल संस्करण

बैंक तथा वित्तीय संस्थाहरूमा लामो अवधिदेखि रहेको अधिक तरलताको समस्या समाधान गर्न राष्ट्र बैंकले प्रणालीबाट पुँजी तान्न लागेको छ । बुधबार बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले २८ दिने निक्षेप संकलन उपकरणका माध्यममार्फत बजारबाट पुँजी खिच्न लागेको हो । 

राष्ट्र बैंकले १७ मंसिरमा जारी हुने ५० अर्बको निक्षेप संकलन उपकरण १५ पुसमा साँवा र ब्याजसहित फिर्ता गर्ने भएको हो । बैंक तथा वित्तीय संस्थाले कम्तीमा ५ करोडदेखि अधिकतम ५ करोडले भाग जानेबराबरको रकम राष्ट्र बैंकमा पार्क गर्न सक्नेछन् ।

बैंकहरूले निक्षेपको ब्याजदर थप नघटाउन र कर्जा विस्तार जथाभावी नगरून् भन्नका लागि पनि बजारबाट अधिक तरलता खिच्नुपर्ने अवस्था आएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बताए । बैंकहरूमा उच्च तरलता भएपछि सेयर बजारमा समेत लगानी बढेको छ । बजारमा अहिले दैनिक ४ देखि ९ अर्ब रुपैयाँसम्म सेयर कारोबार हुन थालेको छ । 

गत असारदेखि असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा ४ दशमलव ५ प्रतिशतले बढेर ३४ खर्ब ३४ अर्ब पुगेकोमा सेयर धितोमा कर्जा भने १८ प्रतिशतले बढेर ५९ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाले आठ महिनामा निक्षेपको ब्याजदरसमेत करिब डेढ प्रतिशतले घटाएका छन् । कोरोनाको प्रभाव र बन्दाबन्दी सुरु हुनुअघि (फागुन)सम्म निक्षेपमा औसत ६ दशमलव ७७ प्रतिशत दिइरहेका बैंक तथा वित्तीय संस्थाले असोज अन्त्यसम्ममा १ दशमलव ३२ प्रतिशतले घटाएका हुन् । 

निक्षेपमध्ये साधारण बचतमा १ दशमलव ४६ प्रतिशतसम्म र मुद्दती बचतमा १ दशमलव २८ प्रतिशतसम्म घटेको हो । साधारण बचतमा बैंकहरूले ४ दशमलव ७८ प्रतिशतसम्म दिइरहेकामा ३ दशमलव ३२ प्रतिशतमा सीमित गरेका हुन् । मुद्दती खातामा भने ९ दशमलव ७४ प्रतिशतसम्म प्रस्ताव गरिरहेकामा ८ दशमलव ४६ प्रतिशतसम्म दिन थालेका हुन् । 
राष्ट्र बैंकले ४ मंसिरमा २१ अर्ब ८० करोड खिचेसँगै बजारमा १ खर्ब ६४ अर्ब तरलता बाँकी छ ।

अब ५० अर्ब उठाएपछि बैंकहरूमा करिब १ खर्ब अधिक तरलता रहनेछ ।  यसअघि ४ मंसिरमा ३० अर्ब उठाउने प्रयास गर्दा बैंकहरूले २३ अर्ब ५० करोड रुपैयाँका लागि आवेदन दिएका थिए । यसमध्ये २१ अर्ब ८० करोड रुपैयाँबराबरको आवेदन स्वीकृत भएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले अधिक तरलता भए पनि अधिकतम शून्य दशमलव ९९ प्रतिशतसम्म ब्याजमा समेत २१ अर्ब ८० करोड रुपैयाँ राखेका हुन् । 

अल्पकालीन यो उपकरणमा भने बैंकहरूले कम ब्याजदरमै भए पनि पैसा राख्न चाहेको देखिन्छ । सोअघि ८ असोजमा ३० अर्ब उठाउन खोज्दा भने बैंकहरूले ८२ अर्ब ७० करोड रुपैयाँसम्म राख्न खोजेका थिए । सो समय अधिकतम शून्य दशमलव ७० प्रतिशतसम्म ब्याजदरमा ३० अर्ब रुपैयाँसम्म राखेका थिए । 

यसअघि पनि राष्ट्र बैंकले चालू आवमा तीनपटकसम्म एक साता अवधिको रिभर्स रिपो जारी गरेर ६० अर्ब रुपैयाँसम्म बजारबाट खिचेको थियो । बैंकहरू गत साउनदेखि उच्च अधिक तरलतामा रहेका छन् । कोभिड–१९ को प्रभावस्वरूप कर्जा लगानी कम भएपछि बैंकहरूको पुँजी लगानीविहीन रहने अवस्था आएको हो ।
 

सुझावित समाचार