सुरक्षा जोखिम भन्दै आफ्नै पार्टी कार्यालय गएनन् ओली, आठ महिनायता सिंहदरबार पनि गएका छैनन् प्रधानमन्त्री

बुधबार, १६ मंसिर, २०७७
डिजिटल संस्करण
सुरक्षा जोखिम भन्दै आफ्नै पार्टी कार्यालय गएनन् ओली, आठ महिनायता सिंहदरबार पनि गएका छैनन् प्रधानमन्त्री

असंलग्न राष्ट्रहरूको सम्मेलनको उद्घाटन सत्रमा भर्चुअल माध्यमबाट भाग लिन २२ वैशाखमा सिंहदरबार गएका प्रधानमन्त्री ओली त्यसयता बालुवाटारबाटै देश चलाइरहेका छन् ।

कार्यसूचीअनुसार काम भइरहेको भए यतिवेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एकदमै व्यस्त हुनुपर्ने हो । आर्थिक वर्षको पहिलो चौमासिकपछि हरेक मन्त्रालयको समीक्षा गरेर चालू कार्यक्रमलाई गति दिने मंसिरमै हो । तर, यस्तो वेला प्रधानमन्त्री कार्यालय भने सुनसानजस्तै छ । प्रधानमन्त्री केपी ओली कार्यालय नै नआउँदा दीर्घकालीन महत्व राख्ने कामहरूसमेत प्रभावित भइरहेका छन् । 

प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय जान छाडेर बालुवाटारबाटै सरकार चलाउन थालेको करिब आठ महिना भइसकेको छ । गत २२ वैशाखमा असंलग्न राष्ट्रहरूको सम्मेलनलाई उनले कार्यालयको एक्सन रुमबाटै सम्बोधन गरेका थिए । त्यसपछि उनी कार्यालय आएको थाहा नभएको कर्मचारीहरू बताउँछन् । 

प्रधानमन्त्रीले निवासबाटै सरकार चलाउँदा राज्य संयन्त्र नै सुस्त बनेको सिंहदरबारका उच्चपदस्थ कर्मचारीहरू बताउँछन् । सम्पूर्ण मन्त्रालयहरूलाई नियमित रूपमा निगरानी र निर्देशन दिने प्रधानमन्त्री कार्यालय नै सुस्त भएपछि अन्य मन्त्रालयमा समेत त्यसको असर परेको छ । ‘कार्यकारी प्रमुख नै कार्यालय नगएपछि त्यसबाट प्रधानमन्त्री कार्यालय त सुस्त हुने नै भयो, त्यसको असर अरू मन्त्रालय र तल्लो तहसम्म पुगेको छ,’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने ।

मन्त्रिपरिषद्का बैठकदेखि सामान्य प्रशासनिक निर्णयहरू पनि बालुवाटारबाटै हुने गरेका छन् । नियमित रूपमा ब्रिफिङ लिने र निर्देशन दिने प्रधानमन्त्रीको काम नै लामो समयदेखि अवरुद्धजस्तै छ । प्रधानमन्त्रीले समय नदिँदा यो वर्ष मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतासमेत हुन सकेन । सातै प्रदेशका मुख्यमन्त्रीहरू रहेको अन्तरप्रदेश समन्वय परिषद्को बैठकसमेत बस्न सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न बनाइएको एक्सन रुममा प्रायः ताला झुन्ड्याइएको हुन्छ । 

दुई वर्षअघि प्रधानमन्त्री कार्यालयमा पुगेका प्रहरी ऐनलगायत महत्वपूर्ण ऐनका मस्यौदा अलपत्र परेका छन् । सुशासनसम्बन्धी कतिपय प्रतिवेदनहरू पनि अघि बढ्न नसकेको स्रोत बताउँछ । नियमित रूपमा बैठक बस्ने पद्धति नहुँदा प्रधानमन्त्री कार्यालयकै कतिपय सचिवहरूले महिनौँसम्म प्रधानमन्त्रीलाई भेट्नै नपाएको अवस्था रहेको स्रोत बताउँछ । 

पूर्वमुख्यसचिव डा. विमल कोइरालाले प्रधानमन्त्री कार्यालय नै नजाने प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पर्ने बताए । ‘प्रधानमन्त्री नियमित कार्यालय नजाँदा राज्य सञ्चालनमा ठूलो असर पर्छ । कार्यकारी प्रमुख नै कार्यालय नगएपछि अनुशासनहीनता बढ्छ । प्रधानमन्त्री नै नआएपछि मन्त्रीहरूमा पनि किन हामी जानुप¥यो भन्ने भावना आउँछ,’ उनले भने, ‘राज्य सञ्चालनमा जुन किसिमको संवाद र सञ्चार हुनुपर्ने हो, त्यो हुन सक्दैन । यसले निर्णय प्रक्रियामा सुस्तता आउँछ । समग्रमा यस्तो प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पार्दछ ।’

हुन पनि सुशासन कायम गर्न प्रधानमन्त्रीको सबैभन्दा बलियो संयन्त्र राष्ट्रिय सतर्कता केन्द्र नै अहिले सबैभन्दा कमजोर बनेको छ । केन्द्र दुई महिनादेखि सचिवविहीन छ । विगतमा नियमित अनुगमन गर्ने यो कार्यालयको अहिले कुनै गतिविधि नै छैन । प्रधानमन्त्री ओलीले नै चासो नदिँदा केन्द्र कमजोर बन्दै गएको कर्मचारीहरूको गुनासो छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली सिंहदरबारस्थित कार्यालय कम जान थालेको बताए । सिंहदरबारमा सामाजिक दूरी कायम गर्न कठिनाइ हुने भएकाले बालुवाटारबाटै काम गर्दै आएको उनको भनाइ छ । ‘जरुरी पर्दा अहिले पनि सिंहदरबार जाने गर्नुभएको छ,’ थापाले भने, ‘सामान्यतया बालुवाटारकै ठूलो हलबाट प्रधानमन्त्रीले काम गर्दै आउनुभएको छ ।’ प्रधानमन्त्री पछिल्लोपटक सिंहदरबार गएको मिति भने बुझेर मात्र आफूले भन्न सक्ने उनको भनाइ छ । 

पछिल्लो समय उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिइएको छ । तर, प्रस्ट रूपमा अधिकार प्रत्यायोजन नभएकाले धेरैजसो काम प्रधानमन्त्रीमै गएर ठोकिन्छन् । 

प्रधानमन्त्री कार्यालयका प्रवक्ता शंकर नेपालले भने कार्यालयका काम नियमित रूपमै भइरहेको दाबी गरे । नयाँ योजना बनाउनेदेखि समीक्षाका काम सुरु हुन लागेको उनको भनाइ छ । 

२१ फागुनमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि २ चैतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड– १९ नियन्त्रणका लागि सार्क राष्ट्रका प्रमुखहरूसँग गरेको भर्चुअल छलफलमा भाग लिन प्रधानमन्त्री ओली सिंहदरबार पुगेका थिए । त्यस्तै, २९ चैतमा उनले मुख्यमन्त्रीहरूसँग कोरोना रोकथामका विषयमा पनि कार्यालयको एक्सन रुमबाटै छलफल गरेका थिए । 

प्रधानमन्त्री भेट्न मुख्यसचिवले नै घन्टौँ कुर्नुपर्छ 

विभिन्न कामका सिलसिलामा मुख्यसचिवले दिनमै पटक–पटक भेट्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओली कार्यालय आउन छाडेपछि उनलाई दिनमा एकपटक भेट्न पनि मुख्यसचिव शंकरदास बैरागीले घन्टौँ कुर्नुपर्छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली बालुवाटारमा राजनीतिक भेटघाटमा बढी व्यस्त हुने भएकाले मुख्यसचिव बैरागी दैनिकजसो बालुवाटार गएर घन्टौँ कुर्ने गर्छन् । ‘फाइल बोकेर बालुवाटार धाउँदैमा मुख्यसचिवज्यूको दिन बित्ने गरेको छ,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘यसबाट पनि प्रधानमन्त्री कार्यालय कसरी चलेको छ भन्ने थाहा हुन्छ ।’ 

बालुवाटार ओहोरदोहोरमै मुख्यसचिव बैरागीको धेरै समय बित्ने गर्छ । जसका कारण मुख्यसचिवका अन्य कामसमेत प्रभावित हुने गरेका छन् । मुख्यसचिव भएको दुई महिना बित्दा पनि उनले सचिवहरूको बैठकसमेत राख्न सकेका छैनन् । 

सतर्कता केन्द्र सचिवविहीन

सुशासन कायम गर्न प्रधानमन्त्रीको सबैभन्दा बलियो संयन्त्र राष्ट्रिय सतर्कता केन्द्र हो, जुन यतिवेला सबैभन्दा कमजोर बनेको छ । केन्द्र दुई महिनादेखि सचिवविहीन छ । विगतमा नियमित अनुगमन गर्ने यो कार्यालयको अहिले कुनै गतिविधि नै छैन । प्रधानमन्त्री ओलीले नै चासो नदिँदा केन्द्र कमजोर बन्दै गएको कर्मचारीहरूको गुनासो छ । 

केन्द्र दुई महिनादेखि सचिवविहीन छ । सचिव नहुँदा सहसचिवले उजुरी छानबिन गर्ने र निर्देशन दिने आँट गर्दैनन् । अर्काेतर्फ अनुगमन तथा छानबिनका लागि बजेटसमेत कटौती भएका स्रोत बताउँछ । ‘बजेट नै नभएपछि कार्यालयका गतिविधि त्यसै सुस्ताएका छन्,’ केन्द्रका एक कर्मचारीले भने । 

......

यो प्रवृत्तिले शासन प्रक्रियामै ठूलो असर पर्छ : डा. विमल कोइराला, पूर्वमुख्यसचिव 

प्रधानमन्त्री नियमित कार्यालय नजाँदा राज्य सञ्चालनमा ठूलो असर पर्छ । कार्यकारी प्रमुख नै कार्यालय नगएपछि अनुशासनहीनता बढ्छ । प्रधानमन्त्री नै नआएपछि मन्त्रीहरूमा पनि किन हामी जानुप¥यो भन्ने भावना आउँछ । राज्य सञ्चालनमा जुन किसिमको संवाद र सञ्चार हुनुपर्ने हो, त्यो हुन सक्दैन । यसले निर्णय प्रक्रियामा सुस्तता आउँछ । समग्रमा यस्तो प्रवृत्तिले शासन प्रक्रियामै प्रतिकूल असर पार्दछ । 

समन्वय, नीति निर्माणजस्ता विषय प्रधानमन्त्रीको जिम्मामा हुन्छन् । प्रधानमन्त्री नै कार्यालय नगएपछि यस्ता काममा अरूलाई चासो हुँदैन । मन्त्रीहरूको पनि सक्रियता घट्छ । प्रधानमन्त्रीलाई नै भेट्न गाह्रो भएपछि स्वाभाविक रूपमा सुस्तता आउने नै भयो, कर्मचारीको अनुशासनमा पनि कमी आउन सक्छ । त्यसको असर तल्लो तहसम्म पर्छ ।

......

काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंह भन्छन्, ‘धुम्बाराही मात्रै होइन, सिंगो काठमाडौं सुरक्षित छ’ 

सत्तारुढ नेकपाले मंगलबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएको बैठक अन्तिम समयमा ‘सुरक्षा थ्रेट’ भन्दै प्रधानमन्त्रीनिवास बालुवाटार सारियो । तर, काठमाडौं प्रहरीले भने धुम्बाराही मात्रै होइन, सिंगो काठमाडौं पूर्ण सुरक्षित रहेको जनाएको छ । ‘सुरक्षाको कारण देखाएर नेकपाको सचिवालय बैठक धुम्बाराहीमा नबसेको भन्ने कुरा के हो ठ्याक्कै मलाई थाहा भएन । तर, नेकपाको पार्टी कार्यालयमा कुनै सुरक्षा जोखिम छैन,’ काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने, ‘सुरक्षा दिन हामी सक्षम छौँ । धुम्बाराही मात्र होइन, सिंगो काठमाडौं सुरक्षित छ ।’

मंगलबार बिहानै महासचिव विष्णु पौडेलले धुम्बाराहीमा तय भएको बैठक बालुवाटारमा बस्ने सूचना सचिवालयका नेताहरूलाई दिएका थिए । तर, अध्यक्ष प्रचण्डले पूर्वनिर्धारित कार्यक्रमअनुसार बैठक पार्टी कार्यालयमै बस्ने अडान लिए । त्यसको केहीबेरमा पौडेलले ‘सुरक्षा थ्रेट’का कारण बैठक बालुवाटारमै बस्ने जानकारी गराएका थिए । गृह मन्त्रालयको सिफारिस त्यस्तै रहेको उनको भनाइ थियो । शनिबार बसेको सचिवालयले मंगलबारको बैठक धुम्बाराहीमा गर्ने निर्णय गरेको थियो ।

सुरक्षा निकायले भने पार्टी कार्यालयमा बैठक नबस्नुका पछाडि दुई कारण हुन सक्ने अनुमान गरेको छ । पहिलो, स्वास्थ्य मापदण्ड पालनामा कठिनाइ हुने भएकाले । दोस्रो, खुला ठाउँ भएका कारण कार्यकर्ताबाट नाराबाजी हुन सक्ने भएकाले पनि प्रधानमन्त्री बालुवाटारबाट बाहिर निस्कन नचाहेका हुन् । 

सुझावित समाचार