एक वर्षपछि १३औँ सागको खर्च विवरण सार्वजनिक

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एसियाली खेलकुद (साग)को आर्थिक विवरण तीन महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरेका थिए । सदस्यसचिव सिलवालको घोषणाअनुसार १३औँ सागको खर्च विवरण ०७६ साल फागुनको अन्तिम सातामै हुनुपर्ने थियो । सुरुवाती तीन महिनाको वाचामा उनले पूरा गर्न सकेनन् । यसैबीच संसारलाई नै आतंकित बनाउने कोरोना भाइरस आयो । सरकारको लकडाउन र कोभिड– १९ को महामारीका कारण खेलकुदका सब गतिविधि ठप्प नै रहे । 

सदस्यसचिव सिलवालले आफ्नो पूर्वघोषणा साग सकिएको ठ्याक्कै एक वर्ष हुन एक दिन बाँकी रहँदा पूरा गरेका छन् । राखेपले आइतबार एक कार्यक्रमबीच १३औँ सागको खर्च विवरण सार्वजनिक गरेको छ । गत वर्ष १५–२४ मंसिरसम्म काठमाडौं, जनकपुर र पोखरामा १३औँ साग भएको थियो । १५ मंसिर २०७७ मा साग सम्पन्न भएको एक वर्ष हुनेछ । सिलवालले आइतबार १४ मंसिर २०७७ मा १३औँ सागको खर्च विवरण गरेका हुन् । १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदकसहित कुल दुई सय ६ पदक जितेको थियो ।

क्षमा मार्दै खर्च विवरण सार्वजनिक
१३औँ सागमा खेलकुद आयोजनातर्फ एक अर्ब ३१ करोड ७८ लाख ४३ हजार रुपैयाँ खर्च भएको सिलवालले जानकारी दिएका छन् । सागका लागि भौतिक पूर्वाधार निर्माणमा दुई अर्ब ८६ करोड १४ लाख २८ हजार नाै सय ७३ रुपैयाँ खर्च भएको उनले बताए । भौतिक पूर्वाधारमा अघिल्ला सदस्यसचिवदेखि भएका निर्माण जोडिएको उनले जनाए । ‘भौतिक पूर्वाधार निर्माण अघिल्लो सदस्यसचिवका पालादेखि अहिलेसम्म जोडेका हौँ,’ उनले भने । निर्धारित समयमै खर्च विवरण सार्वजनिक गर्न नसक्दा सदस्यसचिव सिलवालले माफी मागेका छन् । 

‘हामीले तीन महिनाभित्रै सागको खर्च विवरण सार्वजनिक गर्ने भनेका थियौँ, तर सकेनौँ,’ १३औँ सागका लागि बनाइएको मुख्य मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव सिलवालले भने, ‘काठमाडौं, जनकपुर र पोखराबाट समयमै हिसाबकिताब आएन, यसैगरी दुईपटक सार्वजनिक सूचना जारी नै गर्नुपरेको थियो, फेरि कोभिड– १९ को महामारी पनि चलेको थियाे, यसैकारण यो समयमै सार्वजनिक गर्न नसकेका हौँ, यसका लागि म माफी माग्छु ।’

साढे पाँच अर्ब बजेट प्रस्ताव
२० वर्षपछि नेपालले १३औँ साग आयोजना गर्न राखेपले सरकारसँग पाँच अर्ब ६९ करोड बजेट प्रस्ताव गरेको थियो । सरकारले साग आयोजना गर्न तीन अर्ब ६५ करोड विनियोजन गऱ्याे । साग आयोजना गर्न विभिन्न पक्षबाट आर्थिक सहयोग आएको सिलवालले जानकारी दिए । सरकारबाट एक अर्ब २३ करोड १८ लाख ४८ हजार रुपैयाँ आएको थियो । यसैगरी, टिकट बिक्रीबाट दुई करोड ६७ लाख ११ हजार ६ सय ७५ र  विज्ञापनबाट २० लाख नाै हजार नाै सय १५ रुपैयाँ प्राप्त भएको उनले बताए । सहभागी अन्य ६ राष्ट्रबाट एक अर्ब ३७ करोड २७ लाख ९४ हजार चार सय २३ रुपैयाँ प्राप्त भएको सदस्यसचिव सिलवालले जानकारी गराए । यसैगरी, सागमा पोखरा सचिवालयमा सात करोड ६२ लाख ९८ हजार,  जनकपुर सचिवालयमा ६२ लाख ९८ हजार दुई सय २४ र पोखरा सचिवालयमा पाँच लाख ९३ हजार पाँच् सय एक रुपैयाँ खर्च भएको उनले बताए । 

ब्लेजर बनाउन ९६ लाख खर्च
१३औँ सागमा विवादास्पद बनेको एक थियो ब्लेजर । अक्सर ठूलो अन्तर्राष्ट्रिय खेलकुद प्रतियोतिगा हुँदा आयोजकले सहभागी खेलाडीदेखि विशिष्ट पदाधिकारीलाई ब्लेजर दिने गर्छ । राखेपले १३औँ सागमा उपप्रधानमन्त्रीदेखि विशिष्ट श्रेणीका अधिकारीलाई समेत ब्लेजर उपलब्ध गराएको थियो । प्रतियोगितामा सहभागी खेलाडी र प्रशिक्षकले ब्लेजर नपाएको अवस्थामा राखेपले सरकारका विशिष्ट पदाधिकारीलाई ब्लेजर उपलब्ध गराउँदा विवादास्पद बनेको थियो । ब्लेजर शीर्षकमा मात्र ९६ लाख ८२ हजार रुपैयाँ खर्च भएको देखिन्छ । यसैगरी प्रचारप्रसारमा ६ करोड ५६ लाख रुपैयाँ खर्च भएको सदस्यसचिव सिलवालले बताए । 

समारोहमा १३ करोड ५९ लाख
प्रतियोगिताको उद्घाटन र समापन समारोहका लागि मात्र ११ करोड ५९ लाख ६७ हजार रुपैयाँ खर्च सागको खर्च विवरणमा उल्लेख छ । १३औँ सागको समापन र उद्घाटन अहिलेसम्मक उत्कृष्ट भएको दाबी आयोजकको छ । यसैगरी खेल सामग्री व्यवस्थापनका लागि एक करोड २९ लाख ६ हजार तीन सय ७९ खर्च गरेको सिलवालले बताए ।  होटेल बसोवासमा १३ करोड ५९ लाख ६७ हजार ६ सय ८३ र यातायात व्यवस्थापनमा तीन करोड ८३ लाख ९४ हजार ४६ खर्च भएको थियो । पहिलोपटक खेलाडी र अफिसियललाई पाँचतारे होटेलमा व्यवस्था गरिएको सिलवालले दाबी गरेका छन् । ‘हामीले साग खेलकुद इतिहासमै खेलाडीलाई पहिलोपटक पाँचतारे होटेल र अन्य सुविधायुक्त तारे होटेल व्यवस्था गरेका थियौँ,’ सिलवाल भन्छन्, ‘यसअघि यस्तो व्यवस्था थिएन ।’

पूर्वाधारमा बढी खर्च
साग आयोजनाको दिनसम्म पनि निर्माण कार्य जारी नै थियो । मुख्य रंगशाला दशरथमा उद्घाटन समारोह हुनु केही घन्टाअघिसम्म पनि कालोपत्रे भइरहेको थियो । यसका साथै विभिन्न खेलस्थलमा मर्मत र निर्माण कार्य सुचारु नै थिए । राखेपले १३औँ सागको पूर्वाधार निर्माण तथा मर्मतमा दुई अर्ब ८६ करोड १४ लाख २८ हजार नाै सय ७३ रुपैयाँ खर्च गरेको जनाएको छ ।  दशरथ रंगशाला निर्माणमा ६८ करोड एक लाख ५६ हजार खर्च गर्दा पोखरा रंगशाला निर्माणमा एक अर्ब चार करोड ५६ लाख ८८ हजार चार सय ६८ खर्च गरिएको छ । 

पाकिस्तानसँग छलफल
१४औँ सागको आयोजक झन्डा पाकिस्तानले काठमाडौंबाट लगेको थियो । आयोजकका रूपमा पाकिस्तानले तीन महिनाभित्र नै बैठक डाक्नुपर्ने थियो । तर, पाकिस्तानले अहिलेसम्म पनि अन्य सार्कका राष्ट्रहरूलाई सागको सम्बन्धमा कुनै पनि मिटिङ वा छलफलसमेत नगरेको सदस्यसचिव सिलवालले बताएका छन् । पाकिस्तानले गर्न नसकेको अवस्थामा श्रीलंका र माल्दिभ्सले संयुक्त रूपमा गर्ने जनाइएको छ । ‘पाकिस्तानले अहिलेसम्म साग गर्न सक्ने वा नसक्ने भन्ने सम्बन्धमा केही जानकारी नै गराएको छैन, यदि उनीहरूले गर्न नसके श्रीलंका र माल्दिभ्सले संयुक्त रूपमा आयोजना गर्ने भनी दाबी गरिरहेका छन्,’ सिलवालले भने । 

सुझावित समाचार