नेपाल विद्युत् प्राधिकरणले काठमाडाैं उपत्यकामा करिब १५ हजार थान स्मार्ट मिटर जडान गरेको छ । प्राधिकरणले रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रमार्फत मिटर जडान कार्य गरिरहेकोे प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा १ लाख घरायसी ग्राहकलाई स्मार्ट मिटर दिने तयारी छ । यो योजना सफल भएपछि कुनै स्थानमा समस्या देखिएमा कार्यालयमै बसेर विद्युत् अवरोध भएको स्थान पहिचान गर्न र समाधान गर्न सकिने सिलवालले बताए । स्मार्ट ग्रिडमा गएपछि प्राधिकरणले कार्यालयको सञ्चालन तथा व्यवस्थापनको खर्चलाई घटाउन सक्नेछ । यसले प्राधिकरणलाई फाइदा पुग्नेछ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको वेबिनारमा बोल्दै एडिबीका ऊर्जासम्बन्धी वरिष्ठ परियोजना अधिकृत पुष्कर मानन्धरले प्राधिकरणसँग मिलेर नेपालको विद्युत्को क्षेत्रमा धेरै सहयोग तथा सुधारका कामहरू गरेको बताए । ‘हामी एडिबीको ऊर्जासम्बन्धी कार्यविधि तथा नेपाल सरकारको ऊर्जा तथा जलस्रोत नीतिमा रहेर नेपालको विद्युत् क्षेत्रलाई कसरी भरपर्दो, सुधार, क्षमता अभिवृद्धि र दिगो पार्न सकिन्छ भनेर अनवरत सहयोग तथा सहकार्य गरिरहेका छौँ,’ उनले भने ।
स्मार्ट ग्रिडको अवधारणा नियमित रूपमा अघि बढाउने अत्यावश्यक प्रक्रिया रहेको बताए । कार्यक्रममा अस्ट एन्ड योङका निर्देशक भिनित मिश्रले विश्वका धेरै देशहरू स्मार्ट ग्रिडमा गइसकेको जानकारी दिँदै नेपालले ठूलो फाइदा लिन सक्ने बताए । उनका अनुसार स्मार्ट ग्रिडको कार्यान्वयनले ऊर्जाको प्रणाली सञ्चालनलाई भरपर्दो र प्रभावकारी मात्र बनाउँदैन, यसले हरेक ग्राहकलाई बिजुलीको बिल तिर्न र सम्पूर्ण सूचना पाउन सहज हुन्छ ।
यसबाट विद्युत् प्राधिकरणको चुहावट कम, पिकलोड व्यवस्थापन, सस्तोमा बिजुली, सम्पत्ति व्यवस्थापन, ठूलो मात्रामा स्मार्ट मिटरले खर्च कटौतीलगायतका सहायता पुग्नेछ भने बिजुलीको भरपर्दो आपूर्ति, विद्युत् कटौतीको कम, डिजेल जेनेरेटरको आवश्यकता कम, पैसाको बचतलगायतका फाइदा उपभोक्तालाई पुग्नेछ ।
स्मार्ट ग्रिडतिर किन अग्रसर ?
कार्यक्रममा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम सुरु गरेको बताए । ‘स्मार्ट ग्रिड सिस्टममा प्राधिकरणलाई जति चाँडो लैजान सकिन्छ, उति चाँडो हामी गुणस्तरीय विद्युत् उपभोक्तालाई दिन सक्छौँ,’ उनले भने । संरचना निर्माणमा आधुनिक प्रविधिलाई जोड दिने र सर्वसाधारणको घरसम्म पुग्ने स्मार्ट मिटरलगायतका काम तीव्र गतिमा अघि बढेको जानकारी दिए ।
‘प्राधिकरणकै मास्टर प्लानअनुसार हाम्रा सबै निर्देशनालय तथा कार्यालयलाई अत्याधुनिक प्रविधिमैत्री (डिजिटलाइज्ड एनइए) बनाउनका लागि काम गरिरहेका छौँ,’ शाक्यले भने, ‘सरकारले दुई वर्षअघि ल्याएको डिजिटल नेपाल फ्रेमवर्कमार्फत काम गरिरहेका छौँ ।’
कार्यक्रमा बोल्दै एसियाली विकास बैंक (एडिबी) नेपाल कन्ट्री मिसन प्रमुख मुख्तर खामुदखानोभले संसारका धेरै देशहरूले विद्युत्को क्षेत्रफलमा उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरिरहेको बताए ।
कार्यक्रममा एडिबीका दक्षिण एसिया विभाग हेर्ने मुख्य ऊर्जा विशेषज्ञ जीवन आचार्यले अपर्याप्त ऊर्जा उत्पादन, कमजोर वितरण प्रणाली र प्रसारण पूर्वाधारका कारण नेपालको विद्युत् क्षेत्रले धेरै महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको बताए । उनले वर्षौँको लगानी र विद्युत् क्षेत्र सुधारमा ढिलाइ भएका कारण नेपालले यो समस्या भोग्नुपरेको बताए ।