कच्ची घर, पक्की शौचालय

शुक्रबार, १२ मंसिर, २०७७
डिजिटल संस्करण

लहानको विपन्न दलित बस्तीका तीन–तीन परिवारले प्रयोग गर्ने गरी १० शौचालय निर्माण, स्थानीय बासिन्दाबाटै मासिक शुल्क उठाएर व्यवस्थापन गरिने

सिराहाको लहान नगरपालिका–११ पडरियाको मुसहर र पासवान बस्तीमा फुसले छाएका घर छन् । केही घरमा टिनका छाना पनि छन् । तर, भर्खरै शौचालय भने पक्की निर्माण गरिएको छ । 

वडा कार्यालयसँगको समन्वय र सामाजिक संस्थाको पहलमा नमुना शौचालय बनेपछि स्थानीय बासिन्दाले राहत पाएको बताएका छन् । विहीबार एक कार्यक्रमबीच शौचालय स्थानीय बासिन्दालाई हस्तान्तरण पनि गरिएको छ । ३३ परिवारको बस्तीमा निर्माण गरिएको शौचालयमा पानी र बिजुलीको पनि सुविधा छ । यहाँका कतिपय घरमा बिजुली पनि छैन । 

घरभन्दा शौचालय राम्रो बनेको देख्दा स्थानीय चनु सदायले आश्चर्य प्रकट गरे । जंगलतिर जानुपर्दाको दुःख हटेको उनको भनाइ छ । ‘खुला दिसामुक्त क्षेत्रमा बिहान–बेलुका दिसापिसाब गर्न गाउँबाहिर जानुपर्दा साह्रै पीडाबोध हुन्थ्यो,’ सदायले भने, ‘बस्ती छेउछाउ जमिन भएका गाउँलेको गालीगलोज त कति सुन्यौँ कति ?’ 

बस्तीको मध्यभागमा पर्ने गरी दुई ब्लकमा निर्माण गरिएका १० वटा शौचालयको साँचो विश्व शौचालय दिवसको सन्दर्भ पारेर स्थानीय बासिन्दालाई हस्तान्तरण गरिएको छ । शौचालयको साँचो हस्तान्तरण गर्दै लहानका मेयर मुनि साहले नमुना शौचालय बस्तीको मात्र नभई सिंगो नगरको सरसफाइको प्रतीक भएको बताए । मेयर साहले भने, ‘शौचालय प्रयोग गरेपछि आफैँले सफा गर्ने बानी बसालौँ । यो अन्य गाउँका लागि पनि उदाहरण हुन्छ ।’

तीन परिवारका लागि एउटा शौचालय
अपांगतामैत्री रहेको भवनलाई दुई ब्लक गरी पाँच–पाँचवटा शौचालय निर्माण गरिएका छन् । वाटर एडको द बिकन परियोजनाअन्तर्गत लहानस्थित दलित जनकल्याण युवा क्लबले शौचालय निर्माण गरेको हो । तीन–तीन परिवारले एउटा शौचालय प्रयोग गर्ने गरी निर्माण गरिएको क्लबका कार्यकारी निर्देशक विनोदकुमार बिसुन्केले बताए । शौचालयको सरसफाइ, धाराको टुटी, हात धुने ठाउँको सुरक्षा गर्ने जिम्मवारी प्रयोगकर्ताको रहने गरी हस्तान्तरण गरिएको उनले बताए ।

शौचालयको नियमित रेखदेख, सुरक्षा तथा सञ्चालनका लागि बस्तीका नौजना रहेको पडरिया खानेपानी तथा सरसफाइ व्यवस्थापन समिति गठन गरिएको छ । समितिकी अध्यक्ष सोमनीदेवी पासवानका अनुसार शौचालयमा जडान गरिएको बिजुली, पानी, साबुन, सरसफाइ सामग्री खरिद र मर्मतका लागि समुदायले नै मासिक रूपमा रकम संकलन गर्न थालेका छन् ।

‘शौचालय प्रयोग गर्ने हरेक घरधुरीले मासिक ५० रुपैयाँ समितिमा बुझाउनुपर्ने नियम बनाएका छौँ,’ अध्यक्ष पासवानले भनिन् ‘त्यही रकमले बिजुलीको महसुल, पानी, सरसफाइ सामग्री खरिददेखि नियमित मर्मत गर्ने योजना छ ।’ शौचालय निर्माणमा २८ लाख ५८ हजार पाँच सय १४ रुपैयाँ खर्च भएको छ । 

सुझावित समाचार