१० मध्ये नाै भारतीय नागरिकको सम्पर्कमा कोरोना संक्रमित

बिहिबार, ११ मंसिर, २०७७
डिजिटल संस्करण

भारतमा हरेक १० मध्ये नाैजनाको सम्पर्कमा कम्तीमा एक वा सोभन्दा बढी कोरोना संक्रमित हुने गरेको एक अध्ययनले जनाएको छ । लोकल सर्कल नामक संस्थाद्वारा बुधबार जारी सर्वेक्षणअनुसार ६० प्रतिशत व्यक्तिको नेटवर्कमा पाँच वा सोभन्दा बढी कोभिड संक्रमित हुने गरेको पाइएको छ । बुधबारसम्ममा भारतमा सक्रिय कोरोना संक्रमितको संख्या साढे चार लाखभन्दा बढी पुगेको छ । भारत विश्वमा सबैभन्दा धेरै संक्रमित हुने देशमध्ये दोस्रो स्थानमा छ ।

लोकल सर्कलले भारतका दुई सय आठ जिल्लाका नौ हजारभन्दा बढी व्यक्तिबीच सर्वेक्षण गरेको थियो । जसमा सहभागी ६६ प्रतिशत पुरुष र ३४ प्रतिशत महिला थिए । सर्वेक्षणमा सहभागी अघिकांश व्यक्ति सहरी इलाकाका थिए भने ग्रामीण भेगका व्यक्तिलाई पनि समेटिएको जनाइएको छ ।  

सर्वेक्षणमा सहभागीलाई पछिल्लो आठ महिनामा तपाईं वा तपाईंको सामाजिक नेटवर्क (परिवार, नातागोता, साथी–सहकर्मी, छिमेकी, व्यापारिक सहयोगी आदि) मा कोरोना संक्रमणले कसरी असर पारेको छ भनी सोधिएको थियो ।

जवाफमा २८ प्रतिशत सहभागीले आफ्नो सम्पर्कमा रहेका ५–१० जनासम्मलाई कोरोना संक्रमण भइसकेको जनाएका थिए । यस्तै २६ प्रतिशतले यस्ता व्यक्ति एक–चारजना रहेको जनाएका थिए भने १९ प्रतिशतले चिनेजानेकै २० भन्दा बढी व्यक्ति संक्रमित भइसकेको बताएका थिए । यस्तै १३ प्रतिशत सहभागीले यस्ता व्यक्तिको संख्या ११–२० जनासम्म रहेको जवाफ दिएका थिए । 

आफू संक्रमित भएकोसमेत भन्दैनन्
सर्वेक्षणका क्रममा ८८ प्रतिशत व्यक्तिले आफ्नो सम्पर्कमा रहेका एक वा सोभन्दा बढी व्यक्ति संक्रमित रहेको जानकारी दिएका थए । गत सेप्टेम्बरमा गरेको अर्को एक सर्वेक्षणमा ७७ प्रतिशतले आफ्नो सम्पर्कमा रहेका कोही न कोही संक्रमित रहेको जनाएका थिए । यसअघि जुलाईमा ३१ प्रतिशत र मेमा सात प्रतिशतको मात्रै सम्पर्कमा कोही न कोही संक्रमित रहेका थिए । 

कम्युनिटी सोसल मिडिया प्लेटफर्मका अनुसार चाडबाडको दौरान बजारमा निस्किएको भिडभाड र प्रदूषणका कारण भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढेको हो ।

साथै लोकल सर्कलले संक्रमितहरूले आफूलाई संक्रमण भएकोबारे जानकारी दिन इन्कार र परीक्षण नै नगराउने गरेको उदाहरण पनि पेस गरेको छ । कतिपयमा त चाडबाडको वेलामा घरमा कोही संक्रमित भए पनि आइसोलेसनमा समेत नबस्दा सिंगो परिवार नै संक्रमित बन्न पुगेको छ । 

सुझावित समाचार