करिब ६ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्र बिस्तारै खुल्दै गएको छ ।
नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा रहेको पोखरामा पनि गतिविधिहरू सञ्चालन हुन थालेका छन् ।
लामो समयको लकडाउनपछि पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ ।
अहिले पोखराका आकाशमा दैनिक पाँचदेखि ६ सय हाराहारीमा प्याराग्लाइडिङ उडान गर्ने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ ।
सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न अहिले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्यले अहिले ५० प्रतिशत छुट दिएपछि आन्तरिक पर्यटकको अकर्षण बढ्दो रहेको बताए ।
प्रकृतिसँग रमाउनेहरूका लागि राम्रो माहोल सिर्जना भएको र व्यवस्थापन पनि चुस्त रहेको उनले बताए ।
अहिले एउटा कम्पनीले प्रतिदिन दुईपटक मात्रै उडान भर्ने व्यवस्था गरिएको छ ।
समय–तालिका मिलाएर उडानको अनुमति दिइएको उनले बताए । एकै समयमा सबैलाई उडान अनुमति दिँदा उडान र अवतरणको समस्या उत्पन्न भई दुर्घटनाको सम्भावना हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समय–तालिका निर्धारण गरिएको जनाइएको छ ।
अहिले पोखरामा नेपाल हवाई खेलकुद संस्थाबाट उडान अनुमति पाएका तीन सय ३८ प्यारापाइलट छन् ।
६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान भरिसकेका छन् ।
कोभिड–१९ लाई मध्यनजर गर्दै सरकारले लागू गरेको सुरक्षा मापदण्डभित्र रहेर पोखरामा प्याराग्लाइडिङ सञ्चालन भइरहेको छ ।