आयोडिनयुक्त नुनको प्रयोगमा वृद्धि

सोमबार, १ मंसिर, २०७७
डिजिटल संस्करण
आयोडिनयुक्त नुनको प्रयोगमा वृद्धि

फाइल फाेटाे

सिराहाका सीमावर्ती क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरूको संख्यामा वृद्धि भएको हो ।  

वर्षौँदेखि ढिकेनुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासी पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् ।
 
आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे व्यापक प्रचारप्रसार, स्थानीय प्रशासनले भारतीय नुनको आयातमा गरिएको कडाइ र सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि सीमावर्ती ग्रामीण क्षेत्रमा ढिकेनुनको प्रयोग घट्दै गएको हो । 

पछिल्लो समय यस क्षेत्रका नागरिकमा दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुनप्रति आकर्षण बढेको बरियापट्टी गाउँपालिका–४ का सरोजकुमार महतोले बताए । उनले भने, ‘आयो नुनको फाइदाबारे थाहै थिएन, त्यसैले हामीले भारतीय ढिकेनुनको प्रयोग गर्दै आएका थियौँ, अब भने आयोडिनयुक्त नुनकै प्रयोग गर्न थालेका छौँ ।’ 

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गाउँमै आयोडिनयुक्त नुनको महत्व, उपयोगिता र फाइदाबारे गाउँगाउँमा प्रचारप्रसार गरेर बिक्री गर्न थालेपछि यसप्रति उपभोक्ताको आकर्षण बढेको उनको भनाइ छ ।

आयोडिन नुन उपभोगले बालबालिकामा गलगाँड आउने, लाटो–लठेब्रो हुनेजस्ता शारीरिक समस्या कम हुँदै जान्छ भने मानसिक रूपमा फुर्तिलो, शारीरिक रूपमा स्वस्थ, स्मरण शक्तिको वृद्धिसँगै बालबालिकाहरूमा पढ्ने रुचिको विकास हुने हुँदा आयोडिनयुक्त नुनको प्रयोग बढ्दै गएको सखुवानन्कारकट्टी गाउँपालिकाका शम्भु यादवले बताए । 

उनले भने, ‘करिब दुई वर्षअघिसम्म गाउँका अधिकांश व्यक्तिले भारतीय ढिकेनुनको प्रयोग गर्थे, तर अब अधिकांशले आयो नुनको प्रयोग गर्न थालिसकेका छन् ।’ 

विगतमा आयोडिनयुक्त नुन लिनका लागि टाढा जानुपर्ने भएकाले पनि स्थानीयवासी ढिकेनुन नै बढी प्रयोग गरिने गरेको थियो । अहिले गाउँमै सुपथ मूल्यमा पाउन थालेपछि हामीलाई सजिलो भएको उनको भनाइ छ । प्रहरी प्रशासनले पनि भारतीय नुन आयातमा कडाइ गरेपछि भारतीय ढिकेनुन बन्द भएको उनको भनाइ छ । आयोडिनयुक्त नुन बजारमा रु. २० मा बिक्री भइरहेको छ । 

‘भारतीय सीमासँग जोडिएको सिराहाको बरियारपट्टी, औरही, भगवानपुर, सखुवानन्कारकट्टी गाउँपालिकालगायत स्थानमा भारतीय ढिकेनुनको प्रयोग बढी भइरहेको थियो,’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड लहानका प्रमुख जितेन्द्र साहले भने, ‘भारतीय नुन प्रयोग भइरहेको स्थानहरूमा आयोडिनयुक्त नुनको प्रचारप्रसार गरेपछि अहिले भारतीय नुनको प्रयोगमा करिब ९० प्रतिशत कमी आएको छ ।’ 

 स्थानीयवासीमा आयो नुनप्रति आकर्षण बढेसँगै सिराहामा आयोडिनयुक्त नुनको माग पनि बढेको उनको भनाइ छ । प्रमुख साहका अनुसार दुई तीन वर्ष अघिसम्म सिराहामा वार्षिक ४०–४५ हजार बोरा आयो नुन खपत हुँदै आएकोमा पछिल्लो समय वार्षिक एक लाख बोरा आयो नुन खपत हुन थालेको छ । 

आर्थिक वर्ष ०७५/७६ मा एक लाख दुई बोरा आयो नुन खपत भएकोमा आर्थिक वर्ष ०७६/७७ मा एक लाख पाँच सय बोरा आयो नुन बिक्री भएको प्रमुख साहको भनाइ छ ।

सुझावित समाचार