मनीषा कोइरालाले स्थापना गरिन् क्यान्सर एजुकेसन फन्ड

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

अभिनेत्री मनीषा कोइरालाले क्यान्सरपीडित बालबालिकाको शिक्षाका लागि ‘क्यान्सर एजुकेसन फन्ड’ को घोषणा गरेकी छन् । ग्लोबल कलेजसँगको सहकार्यमा सुरु भएको फन्डको सर्वाधिकार कोइरालासँग रहनेछ । ‘बच्चालाई सपना देख्न, भविष्यबारे सोच्न, लक्ष्य राख्न शिक्षा पहिलो आधार हो, सबैलाई थाहा छ । तर, त्यसका लागि हामीले वातावरण पनि बनाइदिनुपर्छ । जुन वातावरण बनाउने कोसिस हो यो,’ फन्डको बिहीबार औपचारिक घोषणा गर्दै उनले भनिन् ।

मनीषा आफैँ पनि क्यान्सर जितेकी व्यक्ति हुन् । आफूमा भएको आत्मबल, आफूप्रतिको विश्वास, परिवार तथा शुभचिन्तकको हौसला र कामना अनि डक्टरहरूको मिहिनेतले आफूले क्यान्सरलाई परास्त गरेको उनले बताइन् । भनिन्, ‘यो अभियानलाई लामो गति दिऔँ, पीडितको घाउमा मलम लगाउन सदैव तयार रहनेछु । र, क्यान्सरका कारण संकटमा परेकालाई सहयोग गर्न पाउनु आफैँमा गर्वको कुरा हो ।’ 

ग्लोबल कलेजका प्रिन्सिपल डा.करणसिंह ठगुन्नाका अनुसार क्यान्सरपीडित विद्यार्थीका लागि विभिन्न शीर्षकमा ‘मनीषा कोइराला क्यान्सर एजुकेसन फन्ड’बाट छात्रावृत्ति दिइनेछ । छात्रावृत्ति ‘क्यास’ तथा ‘ननक्यास’ हुनेछ । तत्काल भने विविध ठाउँबाट विद्यार्थीहरूको छनोट गरी ग्लोबल कलेजमा भर्ना दिइने र भविष्यमा उनीहरूले जहाँ पढ्न रुचि राख्छन्, त्यहीँ पढ्ने वातावरण बनाउन सकिने ठगुन्नाले बताए । ग्लोबल कलेजले ‘फन्ड’का लागि मनीषा कोइरालालाई पाँच लाखको चेकसमेत हस्तान्तरण गरेको छ । आगामी दिनमा अन्य विभिन्न क्षेत्रबाट फन्डमा सहयोग जम्मा हुने अभियन्ताले विश्वास व्यक्त गरेका छन् ।

सुझावित समाचार