सिंगल्स डे : चिनियाँले एक सय अर्ब डलरभन्दा बढीको सामान खरिद गरे

बिहिबार, २७ कार्तिक, २०७७
डिजिटल संस्करण

सन् २०२० को ‘सिंगल्स डे’ (१–११ नोभेम्बर) सपिङ मेलाका अवसरमा चिनियाँ उपभोक्ताले  एक सय अर्ब डलरभन्दा बढीको सामान खरिद गरेका छन् । कोरोना भाइरस महामारीका कारण संकट झेलिरहेको चिनियाँ अर्थतन्त्रमा सुधार आएको संकेत पनि यसले देखाएको अनुमान गरिएको छ । 

गत १ नोभेम्बरदेखि ११ दिनसम्म भएको यस मेलामा टाओबाओ र टिमलबाट ७५ अर्ब डलरबराबरको सामान बिक्री भएको छ। यी दुवै इकमर्स प्लेटफर्म चीनको सबैभन्दा ठूलो इकमर्स कम्पनी अलिबाबाले सञ्चालन गरेको हो । 

पछिल्लो २४ घन्टामा मात्र ३८ अर्ब ४० करोड डलरबराबरको सामान बिक्री भएको अलिबाबाले जनाएको छ । अर्को प्रतिस्पर्धी चिनियाँ कम्पनी जेडी डटकमले पनि ४० अर्ब ९० करोड डलरबराबरको सामान बिक्री गरेको छ । 

विश्वमै सबैभन्दा ठूलो सपिङ मेला ठानिएको चिनियाँ सिंगल्स डे मेला पछिल्ला वर्षहरूमा निकै लोकप्रिय भइरहेको छ । यस मेलामा उपभोक्ताले विभिन्न किसिमका सामानमा भारी छुट पाउने गर्छन् जसमा सामान्य घरायसी सामानदेखि बहुमूल्य वस्तु पनि राखिएका हुन्छन् । 

यस मेलामा साना खुद्रा पसलेदेखि ठूला र विश्व प्रसिद्ध ब्रान्डका सामान पाइन्छन् । एप्पल, नाइक र लोरियल समेतका लोकप्रिय ब्रान्डका सामान पनि अनलाइनमा सस्तो र भारी छुटमा पाइने गर्छ । यस प्रकारको मेला सन् २००९ देखि सुरु भएको हो । अमेरिकामा सञ्चालित ब्लाक फ्राइडे र साइबर मन्डे मेला झैँ सिंगल्स डे चीनमा लोकप्रिय छ । 

सुझावित समाचार