नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ ।
देशभर बुधबार गरिएको परीक्षणमा थप २५ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या दुई लाख दुई हजार तीन सय २९ पुगेको हो ।
पछिल्लो २४ घन्टामा १० हजार ८१ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १५ लाख ७४ हजार दुई सय ९५ जनाको नमुना परीक्षण भइसकेको छ ।
यो अवधिमा संक्रमणमुक्त भई १६ सय ६६ जना डिस्चार्ज भएका छन् ।
हालसम्म एक लाख ६२ हजार दुई सय ४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
संक्रमण निको हुने दर ८० प्रतिशत रहेको मन्त्तालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
हाल देशभर सक्रिय संक्रमित ३८ हजार नौ सय १२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये तीन सय ८२ जनाको आइसियू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।