जनगणना–२०७८ सम्पन्न गर्न ४ अर्ब बजेट चाहिने

जनगणना सुरु हुन २ सय ११ दिन बाँकी, नमुना छनोट विधिलाई नअपनाइने, शिक्षकको प्रयोग नहुने

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

हरेक १० वर्षको अन्तरमा गरिँदै आएको राष्ट्रिय जनगणना सुरु हुन अब २ सय ११ दिन मात्र बाँकी छ । बाह्रौँ जनगणना ०७८ मा ४ अर्ब रुपैयाँ खर्च हुने केन्द्रीय तथ्यांक विभाग जनसंख्या शाखा प्रमुख ढुण्डीराज लामिछानेले बताए । उनले भने, ‘यी सबै काम सम्पन्न गर्नका लागि ५ वर्षको अवधिमा ४ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ ।’

जनगणना ०७८ को मुख्य प्रतिवेदन ०७९ सालसम्म र ०८० सालभित्र सबै क्षेत्रगत र विषयगत प्रतिवेदन प्रकाशित गर्ने केन्द्रीय तथ्यांक विभागको तयारी छ । गणनाका लागि हुने खर्चमध्ये पूर्वतयारी (तालिम, भवन, प्रचार सामग्री) र प्रतिवेदन प्रकाशित गर्न १ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । त्यसबाहेक गणनाको मुख्य काम तथ्यांक संकलनका लागि ३ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण छ ।

तथ्याक संकलन १५ जेठ ०७८ देखि ८ असारसम्म १५ दिन चल्नेछ । ८ असार नेपालको राष्ट्रिय जनगणना दिवस पनि हो । तथ्यांक संकलनका लागि देशभर ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक खटिनेछन् । केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणअनुसार अहिले देशभर ७० लाख परिवार संख्या पुगेको छ । ०६८ सालको जनगणनाअनुसार देशभर ५५ लाख परिवार थियो । त्यस्तै, जनसंख्या ३ करोड नाघेको अनुमान छ । 

देश संघीयतामा गएपछिको पहिलो जनगणना भएकाले पनि यो अत्यन्त महत्वपूर्ण रहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिललाल श्रेष्ठले बताए । उनले भने, ‘आसन्न जनगणना यसकारण पनि महत्वपूर्ण बनेको छ कि नमुना छनोट विधिलाई नअपनाइने भएको छ । यसले गर्दा सबै प्रश्नवाली सबैले भर्नु अनिवार्य हुनेछ । अघिल्ला जनगणनामा नमुना छनोट विधिलाई अपनाइने गरिएको थियो ।’ 

 आर्थिक र सामाजिक क्षेत्र समेटिने
राष्ट्रिय जनगणना–२०७८ मा संख्या मात्रै नभई आर्थिक, सामाजिक क्षेत्रलाई पनि समेटिने विभागले जनाएको छ । यसपटकको जनगणनामा पहिलोपटक घर तथा परिवारसम्बन्धी स्वामित्व विवरण र व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरूको विस्तृत तथ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिललाल श्रेष्ठले बताए । त्यसका साथै कृषिमा प्रयोग भएका जग्गा, पशुपक्षीको तथ्यांक र वित्तीय पहुँच, तालिमप्राप्त जनशक्ति, सरकारी अनुदानमा प्रयोग भएको घरहरूको तथ्यांक संकलन गरिनेछ । कोरोना महामारीको अनिश्चितता रहिरहेको अवस्थामा पनि विभागले जनगणना तयारी गरिरहेको छ । महामारीकै बीचमा पनि विभागले पाइलट जनगणना गरिसकेको उनले जानकारी दिए । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरी काम सम्पन्न गरिने विभागको तयारी छ । 

जनगणनामा शिक्षकको प्रयोग नहुने 
अघिल्ला जनगणनाहरूमा तथ्यांक संकलनका लागि शिक्षकको प्रयोग हुँदै आएको थियो । तर, आसन्न जनगणनामा शिक्षकको प्रयोग नहुने भएको छ । ‘विगतमा गणकका रूपमा शिक्षकहरूलाई प्रयोग गरिन्थ्यो भने यसपटक खुला विज्ञापनमार्फत गणकहरू छनोट गरिनेछ,’ सोमबार केन्द्रीय तथ्यांक विभाग र आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भर्चुअल कार्यक्रममा महानिर्देशक श्रेष्ठले भने । तयारीस्वरूप आगामी माघदेखि मास्टर ट्रेनरहरूका लागि तालिम दिन सुरु गरिँदै छ । त्यसैगरी, चैत महिनादेखि ४ महिनाका लागि सबै प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरिँदै छ ।
 
 स्थानीय तहको योजना निर्माणमा सहयोग

देशमा संघीयता कार्यान्वयनमा आएपछि पहिलोपटक हुन लागेको जनगणनामा स्थानीय तहको पनि विस्तृत तथ्यांक संकलन गरिने भएको छ । यसले स्थानीय तहको योजना निर्माणमा सहयोग पुग्ने विभागको भनाइ छ । यसैकारण अघिल्ला जनगणनामा प्रयोग हुँदै आएको नमुना छनोट विधिलाई यसपटक नअपनाइने भएको हो ।

राष्ट्रिय जनगणनालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि राष्ट्रिय जनगणना निर्देशन समिति स्थापना गरिनेछ । साथै, राष्ट्रिय जनगणना समन्वय समिति, राष्ट्रिय जनगणना प्राविधिक समिति र राष्ट्रिय जनगणनाका अन्य विषयगत समितिहरू पनि रहनेछन् । जनगणनाको समयमा ४ महिनाका लागि विभिन्न स्थानमा कार्यालय स्थापना हुनेछन् ।

जसमध्ये केन्द्रसँगै ७ वटै प्रदेश, सबै जिल्ला, सबै स्थानीय तह र वडा कार्यालयमा समेत जनगणना समन्वय समिति स्थापना हुनेछन् ।  कार्यक्रममा योजना आयोगका सहसचिव सुमनराज अर्यालले हाल जनगणनाका शासकीय पक्षका बारेमा छलफल भइरहेको बताए । ‘कुनै पनि तथ्यांकीय प्रक्रियामार्फत उत्पादन भएका सेवाहरू सार्वजनिक चासोका विषय हुन् । अहिले विभाग, सरकारलगायतले प्रवाह गर्ने सेवालाई सार्वजनिक वस्तु बनाउने काममा लागिरहेका छौँ । यसमा जनगणनाका शासकीय पक्षका बारेमा पनि छलफल गरिरहेका छौँ,’ उनले भने । 

 जनगणनामा प्रयोग हुँदै ३ प्रकारका प्रश्नावली
आसन्न राष्ट्रिय जनगणनामा सही र विस्तृत तथ्यांक संकलनका लागि ३ वटा प्रश्नावली तयार पारिएको छ । जसमा पहिलो प्रश्नावलीमा मूल घरानाको तथ्यांक संकलन गरिन्छ । यसमा २५ वटा प्रश्न हुन्छन् । त्यसबाहेक मुख्य प्रश्नावलीमा ५५ वटा प्रश्नहरू हुनेछन् । यो २५ जेठदेखि तथ्यांक संकलनमा प्रयोग गरिनेछ । यसमा सामूहिक प्रश्नावलीको प्रयोग गरिनेछ । मुख्य प्रश्नावलीमा प्रत्यक्ष रूपमा परिवारले उपभोग गरेका सुविधा, खानोपानी, बत्ती, मोबाइल, सवारीसाधन, महिलाका नाममा भएका जग्गा र घर, साना घरका व्यवसायलगायतको पनि विस्तृत तथ्यांक संकलन गरिनेछ । 

त्यसैगरी, सरकारी निकायमा दर्ता नभएकाहरूको विस्तृत विवरण, विदेशमा रहेका परिवारका अनुपस्थित सदस्यहरूको पनि तथ्यांक संकलन गरिनेछ । जसमा कुन व्यक्तिले के काम गर्छन् ? कस्तो काम गर्छन् ? उनीहरूले काम गर्ने ठाउँमा कस्तो उत्पादन हुन्छलगायतका तथ्यांकहरू संकलन गरिने श्रेष्ठले जानकारी दिए । सामुदायिक प्रश्नावली वडास्तरमा हुनेछ । यसमा पनि हाउसहोल्डबाट प्राप्त भएका तथ्यांकलाई भेरिफाई गर्ने काम हुन्छ । जसबाट वडास्तरमा राजस्व संकलनको स्रोतको तथ्यांक, कृषिजन्य उत्पादन र निकासी तथ्यांक, वडास्तरको आम्दानीको स्रोतबारे विवरण लिइनेछ । 

सुझावित समाचार