विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ ।
विगतका वर्षहरूमा १५ देखि २५ रुपैयाँसम्म बिक्री गर्दै आइरहेका किसानले यो वर्ष भने ३५ देखि ५५ रुपैयाँ किलोसम्म बिक्री गरेको बागचौर नगरपालिका– १२ बाफुखोलाका टीका केसीले बताइन् ।
सल्यानका आलु बढी मात्रामा पोखरा, दाङ, बुटवल जाने गरेको छ । खेतबारीमै पुगेर खरिदकर्ताले आलु लिएर जाने गरेकाले बजारको समस्या नभएको आलु खेती गर्दै आएका अगुवा कृषक चित्रबहादुर वलीले बताए ।
जिल्लाको आलु उत्पादनको पकेट क्षेत्रको रूपमा परिचित बाफुखोलामा यस वर्ष आलु उत्पादन समेत बढेको छ ।
उन्नत जातको आलुको बिउ वितरण, आलु ब्लक कार्यक्रम, सिँचाइ सुविधाको विस्तारले यस क्षेत्रलगायत जिल्लामा समेत आलुको उत्पादनमा वृद्धि आएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रमेशकुमार बस्नेतले जानकारी दिए ।
उनले भने, ‘आलुको पकेट क्षेत्रको रूपमा रहेको बाफुखोलालाई आलु ब्लक कार्यक्रम सञ्चालन गरेका छौँ । यस्तै उन्नत जातको बिउ र सिँचाइको पहुँच वृद्धिले पनि उत्पादनमा वृद्धि ल्याएको छ ।’
बागचौर नगरपालिका– १२ का वडा अध्यक्ष दीपक वलीले यहाँका किसानले गरिरहेको आलु उत्पादन र आम्दानी बढाउनका लागि कृषि विकास कार्यालयसँगको सहकार्यमा योजना बनाएर काम गरिरहेको बताए ।
‘यहाँको आम्दानीको मुख्य स्रोत भनेको आलु हो, तर त्यसका साथसाथै पर्यटन प्रवर्द्धनलाई लाई पनि जोड दिनुपर्छ उनले भने कृषि र पर्यटन यो दुवै कुरालाई सँगसँगै अगाडि बढाएर लैजाने हाम्रो योजना छ ।’
जिल्लाभर २४ हजार एक सय मेट्रिक्टन आलु उत्पादन
यस वर्ष जिल्लाभर वर्षे र हिउँदे आलु गरी २४ हजार एक सय १० मेट्रिक टन आलु उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार दुई हजार तीन सय ७० हेक्टर क्षेत्रफलमा वर्षे र हिउँदे आलु खेती गरिएको छ।
वर्षे आलु पाँच सय ५० हेक्टरमा चार हजार पाँच सय ६० मेट्रिक टन र हिउँदे एक हजार आठ सय २० हेक्टरमा १९ हजार पाँच सय ५० मेट्रिक टन आलु उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ ।
गत आर्थिक वर्षको तुलनामा १६ दशमलव ९४ प्रतिशत आलु उत्पादनमा वृद्धि आएको र वर्षे आलु २० दशमलव १९ प्रतिशत र हिउँदे १६ दशमलव २१ प्रतिशतले वृद्धि आएको कार्यालयले जनाएको छ ।
उत्पादन भएको आलुमध्ये १२ हजार ५५ मेट्रिक टन आलु आन्तरिक र चार हजार सात सय ४० मेट्रिक टन बिउमा गरी जम्मा १६ हजार सात सय ९५ मेट्रिक टन आलु आन्तरिक रूपमा नै खपत हुने गरेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए ।
उत्पादित सात हजार तीन सय १५ मेट्रिक टन आलु बजारमा पुगेको उनले बताए। गत आर्थिक वर्षमा दुई हजार दुई सय ४० हेक्टरमा २० हजार ६ सय १७ मेट्रिक टन आलु उत्पादन भएको थियो ।